राजनीति
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि चिनियाँ राजदूत चेन सङबीच शिष्टाचार भेटवार्ता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बिहिवार भएको भेटमा प्रधानमन्त्री कार्कीले नेपाल–चीनबीच दुई पक्षीय सम्बन्ध ऐतिहासिक एवम् घनिष्ठ रहेको र एक चीन नीतिप्रति नेपाल सदैव प्रतिबद्ध रहेको बताएकी थिइन् ।
सो अवसरमा प्रधानमन्त्री कार्कीले आगामी दिनमा व्यापार, लगानी, सम्पर्क सञ्जाल, कृषि, उर्जा, पर्यटन, प्रविधि हस्तान्तरण लगायतका क्षेत्रमा चीनबाट प्राप्त सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरेको परराष्ट्र मन्त्रालयका सचिव भृगु ढुंगानाले जानकारी दिए ।
प्रधानमन्त्री कार्कीले केही समय अगाडी बाढीले बगाएको रसुवागढीस्थित मितेरी पुल पुनः निर्माणमा तत्परतासहित चीन सरकारबाट प्राप्त सहयोगका लागि धन्यवाद दिँदै अन्य नाकाबाट समेत आवत जावत सहजीकरण हुनेमा विश्वास व्यक्त गरिन् ।
भेटमा नेपालका लागि चिनियाँ राजदूत चेन सङले चीन सरकारको तर्फबाट अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै नेपाल–चीनबीच रहीआएको सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरे ।
चीन–नेपालबीच भएका सम्झौता, सहयोग र सहकार्यले निरन्तरता पाउने स्पष्ट गर्दै राजदूत सङले दुवै देश र जनताका हितमा काम गर्न चीन सदैव तयार रहेको बताए ।