राजनीति
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले चाडबाडलक्षित यातायात व्यवस्थापन सहज बनाउन र सडक सुरक्षाका विषयमा शनिबार (असोज ४) सरोकारवालासँग छलफल गरेका छन् ।
छलफलपछि मन्त्री घिसिङले चौबिसै घण्टा यात्रुलाई सडक अवस्थाबारे जानकारी दिन र गुनासो सुन्न तथा त्यसको व्यवस्थापनका निम्ति निर्देशन दिए । बाढीपहिरोले अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन पनि उनले निर्देशन दिएका छन् ।
बैठकमा सार्वजनिक सवारीसाधन नागढुंगा–सिस्नेखोला सुरुङमार्गबाट बाहिर जाने व्यवस्था मिलाउने विषयमा छलफल गरिएको थियो । दसैँपछि त्यस्ता सवारीसाधनले प्रवेश समेत गर्न पाउने व्यवस्था मिलाउन छलफल गरिएको घिसिङको सचिवालयले जनाएको छ ।
काठमाडौं उपत्यकाको नयाँ बसपार्क तथा मुलुकका विभिन्न राजमार्गमा सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन प्रहरी गस्ती तथा प्रहरी संख्या थप गराउन नेपाल प्रहरीलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय बैठकबाट गरिएको छ ।