राजनीति
काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहकारी विकास मन्त्री कुलमान घिसिङले कुनै पनि निर्माण व्यवसायीसँग पूर्वाग्रही भएर ठेक्का नतोड्ने बताएका छन्।
आइतबार नेपाल निर्माण व्यवसायी महासङ्घका प्रतिनिधिहरूसँग भएको भेटमा मन्त्री घिसिङले काम नगरेर वर्षौंसम्म आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीको ठेक्का भने तोकिने तोडिने प्रष्ट पारे।
उनले भने, “अनुमानित रकमभन्दा कम रकम कबुल गरेर आयोजना लिने तर काम नगर्ने प्रवृत्ति व्यापक छ कम रकम कबुल गरेर ठेक्का लिएमा मेरो घरबार जान्छ बैंक जमानत जफत हुन्छ। जरिवाना पेनाल्टी हुन्छ भन्ने डर नभएसम्म काम हुँदैन। सम्झौता गर्ने तर लामो समयसम्म काम नभई जीर्ण रहेका आयोजना अब राख्नु हुँदैन।”
बजेट पनि छ आयोजना पनि तयार छ तर काम किन भइरहेको छैन भन्ने विषयमा मन्त्री घिसिङले प्रश्न गरेका छन्।
“म आफै पनि इन्जिनियर भएकोले सम्पूर्ण ठेक्का प्रक्रियाको विषयमा पूर्ण जानकार छु। आयोजना तर्फबाट पनि गर्नुपर्ने काम नगरेको हेर्छौं । पेनाल्टी हुँदैन जे गर्दा पनि हुन्छ भन्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्छ,” उनले भने ।
मन्त्री घिसिङले बजेट नै भएको आयोजना पनि निर्माण व्यवसायीले काम नगर्ने प्रवृत्ति देखिएको बताए ।