राजनीति
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते संसद भवन सिंहदरबार राष्ट्रपतिको कार्यालय प्रधानमन्त्रीको कार्यालय लगायत निजी सम्पत्तिमा तोडफोडमा संलग्न भएकाहरुलाई पक्राउ नगर्न प्रहरीलाई दबाब दिइएको छ।
जेनजी आन्दोलनका क्रममा भएको तोडफोड आगजनी र लुटपाटका फोटा, भिडियो लगायतका सामग्रीहरू संकलन गर्दै प्रहरीले कारबाही अगाडि बढाएपछि गृह मन्त्रालयले पक्राउ नगर्न प्रहरीलाई दबाब दिएको हो ।
लुटपाट, तोडफोड र आगदानीमा संलग्न एक सय भन्दा बढी व्यक्तिलाई काठमाडौँबाट प्रहरीले नियन्त्रणमा लिएपछि गृहमन्त्री ओम प्रकाश अर्यालले प्रहरी प्रमुखलाई पक्राउ नगर्न दबाब दिएको प्रहरी निकट उच्च स्रोतले जनाएको छ।
प्रहरीले आफैंबाट लुटिएका हतियारहरू खोज्नुपर्ने भएकाले शंकास्पद व्यक्तिहरूलाई पक्राउ गरेको छ भने आन्दोलनका क्रममा महाराजगञ्जमा डिएसपी भन्दै हत्या गरिएका प्रहरी जवानको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ।
सामाजिक सञ्जालमा जारी भएका भिडियो फुटेज र फोटाका आधारमा प्रहरीले धमाधम संलग्नहरुलाई कारबाही अगाडि बढाएपछि गृह मन्त्रालयले जेनजीको आन्दोलनमा सहभागी भएकाहरूलाई दुःख नदिन भन्दै पक्राउ नगर्न निर्देशन दिएको जनाइएको छ ।
यही विषयलाई लिएर गृह मन्त्रालयले पनि घुमाउरो शैलीमा एक विज्ञप्ति जारी गरेको छ। जेनजी आन्दोलन सम्बन्धी अनुसन्धान गर्न न्याय छानबिन आयोग बनेकाले त्यसका आधारमा मात्रै कारबाही अघि बढाउन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
