राजनीति
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडकमा प्रदर्शनमा उत्रिएका समूहहरुलाई संवादका लागि आग्रह गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा निकायका अधिकारीहरुसहितको छलफलपछि गृहमन्त्री अर्यालले सरकार संवादका लागि तयार रहेको स्पष्ट पारे । राजनीतिक माग सरकारले संवादका माध्यमबाट सम्बोधन गर्ने उनको भनाई रहेको छ ।
उनले भने, “राजनीतिक माग सम्बोधन गर्न सरकार तयार छ । संवादमा आउनु पर्यो । सरकार संवादका लागि तयार छ । आन्दोलनका लागि सडकमा जान जरुरी छैन । लोकतान्त्रिक अधिकारको प्रयोग गर्दा अरुको अधिकार हनन् नहुनेतर्फ प्रदर्शनकारी सचेत हुनुपर्छ ।”
बालुवाटार सुरक्षा बैठकमा मुलुकको पछिल्लो सुरक्षा अवस्थाबारे सूक्ष्म विश्लेषण भएको जानकारी दिँदै उनले सुरक्षा स्थितिलाई सामान्यीकरण गर्दै चुनावको वातावरण बनाउन सरकार केन्द्रीत रहेको स्पष्ट पारे ।