राजनीति
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा मन्त्री बन्न लागेका खगेन्द्र सुनार विवादमा तानिएका छन् ।
सुनारविरुद्ध सर्वाेच्च अदालतसहित सुर्खेत र काभ्रेमा जिल्ला अदालतमा विभिन्न अभियोगमा मुद्धा चलिरहेको तथ्य फेला परेको छ । दलित अभियानकर्मी सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सिफारिस गरिएको थियो। उनको अहिले साढे २ बजे शपथग्रहणको कार्यक्रम तय भएको छ।
सुर्खेत जिल्ला अदालतमा उनीविरूद्ध मेहेलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटामाथि हातपात र स्वास्थ्य संस्था तोडफोडको मुद्दा छ। उक्त मुद्दामा २०८१ असार १४ मा सात दिने र साउन २७ गते ३५ दिने पक्राउ पुर्जी जारी भएको थियो। मुद्दा अझै किनारा लागेको छैन।
उता काभ्रे जिल्ला अदालतमा उनीविरूद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा छ। मुद्दा दायर गर्ने अधिवक्ता मनीषा गौतमका अनुसार काभ्रे अदालतमा अहिले पनि त्यो मुद्दा विचाराधीन छ।
त्यस्तै सुनारविरुद्ध पनि सर्वाेच्च अदालतमा मान हानीको मुद्धा परेको पाइएको छ ।