राजनीति
काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धका रिटहरुको सुनुवाइका लागि सर्वाेच्च अदालतले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नेतृत्वमा संवैधानिक इजलास गठन गरेको छ ।
प्रधानन्यायाधीश राउतसहित न्यायाधीशहरु सपनाप्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसा फुयाल र मनोज कुमार शर्मा समिल्लित संवैधानिक इजलास गठन भएको हो । संवैधानिक इजलासमा आजदेखि सुनुवाई सुरु हुने भएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्चमा १६ वटा रिट परेका छन् । अधिवक्ताहरु शेरबहादुर रोकया, विमल पोखरेल, आभाष पोखरेल, दलबहादुर धामी, लगायत १६ जनाले राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएर रिट दर्ता गरेका हुन् ।
रिटमा प्रधानमन्त्रीको नियुक्ति तथा संसद विघटन बदर एवम् संसद पुर्नस्थापना समेतमा उत्प्रेषण, परमादेशको माग गर्दै दायर भएका रिटमा आजदेखि सुनुवाइ सुरु हुन लागेको हो । गत भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए ।
तत्कालीन प्रधानमन्त्री ओलीको राजीनामापछि भदौ २७ गते सांसद समेत नरहेकी पूर्वप्रधानन्यायाधी सुशीला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका थिए । लगत्तै मन्त्रीपरिषद्को बैठकको निर्णयबाट कार्कीले राष्ट्रपति पौडेल समक्ष प्रतिनिधिसभा विघटनको प्रस्ताव गरेकी थिइन् । कार्कीको प्रस्तावपछि राष्ट्रपति पौडेलले प्रतिनिधि सभा विघटन गरेका थिए ।
जेनजी पुस्ताको सिफारिसमा कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गर्ने घोषणा गरेको छ ।