राजनीति
काठमाडौं । नवनियुक्त मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पद तथा गोपनियताको शपथ लिएका छन् ।
मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले कर्णलाई मधेश प्रदेशको प्रमुखमा नियुक्त गर्दै शितल निवासमा आयोजित एक सभामा आज कर्णलाई पद तथा गोपनिताको शपथ गराएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/०७/२४ गतेको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम श्री सुरेन्द्र लाभ कर्ण, धनुषालाई मिति २०८२/०७/२५ गतेदेखि मधेश प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रमुख प्रदीप कुमार कोइरालाले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
कोइरालाका अनुसार राष्ट्रपति पौडेल समक्ष नेपालको संविधानको धारा १६७ बमोजिम नवनियुक्त माननीय प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ ग्रहण ग्रहण गरेका हुन् ।
शपथ ग्रहरण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, सभामुख देवराज घिमिरे लगायतको उपस्थिति रहेको थियो । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई पद मुक्त गरेर कर्णलाई प्रदेश प्रमुखमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।
भण्डारीले संविधानविपरित नेकपा एमालेका सरोज कुमार यादवलाई एक होटलमा मुख्यमन्त्रीमा शपथ गराएपछि उनी विवादमा तानिएकी थिइन् । यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेसँगै मधेश प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालयमा तोडफोड समेत भएको थियो ।