logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छ : प्रधानमन्त्री कार्की


  • राजनीति
  • सोमबार, मंसिर २ २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर रहेको बताएकी छिन् ।

प्रधानमन्त्री कार्कीले आज नागरिक समाजका नेताहरुलाई सम्बोधन गर्ने क्रममा यस पटकको निर्वाचन असफल भए मुलुक राजनैतिक अन्यौल र संवैधानिक संकटमा धकेलिने बताइन् ।

उनले भनिन्, “नागरिक समाजका नेताहरुका रुपमा तपाईहरुले सरकार तथा दलहरुबीच विश्वासको वातावरण बनाउन र आम जनतालाई निर्वाचनमा सहभागी हुन् प्रेरित गर्नका लागि तेस्रो शक्तिका रुपमा सक्रिय र निर्णायक भूमिका खेल्नुहुनेछ भन्ने हामीलाई पूर्ण विश्वास छ ।”

मुलुकको वर्तमान राजनीतिक अवस्थालाई निकास दिने र आसन्न निर्वाचनलाई सुनिश्चित गर्ने यस निर्णायक घडीमा नागरिक समाजका अगुवाहरुसँग प्रत्यक्ष भेटघाट गर्न पाउनु आफ्ना लागि ठूलो कुरा भएको प्रधानमन्त्री कार्कीले बताइन् ।

“मलाई थाहा छ, जब राजनीतिक दलहरूबीच अविश्वास बढ्छ, तब निष्पक्ष आवाज र समाजलाई जोड्ने सेतुका रूपमा यहाँहरूको भूमिका असाध्यै महत्वपूर्ण हुन्छ,” उनले भनिन्, “यो छलफलमा यहाँहरूले राख्नुभएका समाधानमुखी धारणाहरूलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ ।”

प्रधानमन्त्री कार्कीले फागुन २१ गतेको निर्वाचन केवल वर्तमान सरकारको राजनीतिक निर्णय वा इच्छा नभई संवैधानिक रिक्तता टार्नका लागि अपरिहार्य राष्ट्रिय दायित्व भएको स्पष्ट पारिन् । साथै उनले केही पक्षले सिर्जना गरेका अन्योललाई चिर्दै नागरिक समाजले निर्वाचनको वैधानिक आधार स्थापित गर्न र लोकतन्त्रलाई सही मार्गमा फर्काउन दृढतापूर्वक सरकारका साथमा उभिन अनुरोध गरिन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार