राजनीति
काठमाडौं । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी नेपालका सांसद राम अशिष यादव निर्वाचित भएका छन् ।
आइतबार बसेको मधेश प्रदेशसभामा नयाँ सभामुख चयनका लागि मत विभाजन गरिएको थियो । मधेश प्रदेशसभाले प्रदेशसभा कार्य सञ्चालन नियमावली ७ बमोजिम निर्वाचन कार्यक्रम अन्तर्गत सभामुखमा निर्वाचन गरियोस् भन्ने प्रस्तावको उम्मेदवार रामअशिष यादवको पक्षमा ७२ र विपक्ष त्रिलोकी प्रसाद चौधरीको २४ मत परेको छ।
मधेश प्रदेशसभाको छैठौ अधिवेशन अन्तर्गतको १० औं बैठकमा कूल ९६ जनाको उपस्थितिमा यादवको पक्षमा ७२ मत पाएर निर्वाचित भएको उप–सभामुखले वविता राउत ईशले घोषणा गरिन्।
जसपाका यादवलाई सत्ता साझेदार दलहरु नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीले मत दिएका छन्।
यादव धनुषा क्षेत्र २ (ख) बाट निर्वाचित सांसद हुन्। विपक्षमा नेकपा एमालेबाट सभामुखमा त्रिलोकी प्रसाद चौधरी उम्मेदवार थिए। उनलाई एमालेसहित राप्रपा र नेपाल संघीय समाजवादी पार्टीका सांसदले मतदान गरे।