logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित ३ कर्मचारी पक्राउ


  • राजनीति
  • सोमबार, माघ २० २०८२

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृतसहित ३ जना कर्मचारी पक्राउ परेका छन् ।

कुरियरमार्फत् विदेशमा सामान पठाउँदा सेवाग्रहरीसँग घुस मागेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत इन्द्र न्यौपाने, सोही कार्यालयका कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनि र गोश्वारा हुलाक कार्यालयका नायब सुब्बा छविप्रसाद रिजाललाई रहेका छन् ।

उनीहरुलाई अख्तियारको टोलीले डिल्लीबजारबाट नियन्त्रणमा लिएको हो । सेवा ग्राहीको उजुरीपछि कारबाही हुलाक सेवा गोश्वार हुलाक कार्यालयस्थित पार्सल (निकासी) शाखामा कार्यरत कर्मचारीहरुले सामान निकासी गर्दा दुःख दिने र अतिरिक्त रकम माग गर्ने गरेको उजुरी आयोगमा परेपछि टोली परिचालन गरिएको थियो ।

माघ १८ गते टोलीले उनीहरुलाई घुसको नगद र स्रोत नखुलेको रकमसहित रंगेहात फेला पारेको अख्तियारले जनाएको छ ।

आयोगका अनुसार खानतलासीका क्रममा कार्यालय सहयोगी गणेश पुडासैनिको घर्रा र निजको साथबाट घुसबापत् लिएको १० हजारसहित कुल एक लाख ४६ हजार ४२० रुपैयाँ बरामद गरिएको छ । यस्तै नायब सुब्बा छविप्रसाद रिजालको साथबाट घुसबापतको २० हजारसहित ३८ हजार ८४८ रुपैयाँ फेला परेको छ ।

आयोगको टोलीले अभियुक्तहरुको साथबाट स्रोत नखुलेको अन्य रकम र विभिन्न व्यक्तिहरुको २३ थान मोबाइल समेत बरामद गरेको छ । पक्राउ परेका कर्मचारीहरुको साथबाट कुल २ लाख ६८ हजार २८८ रुपैयाँ बरामद भएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

पक्राउ परेका तीनै जनालाई हिरासतमा राखी भ्रष्टाचार निवारण ऐन बमोजिम थप अनुसन्धान प्रक्रिया अगाडी बढाइएको आयोगले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार