logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बालेन शाहलाई निर्वाचन आयोगले फेरि सोध्यो स्पष्टीकरण


  • राजनीति
  • सोमबार, माघ २० २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहलाई निर्वाचन आयोगले फेरि स्पष्टीकरण सोधेको छ ।

झापा– ५ का उम्मेदवार बालेन शाहकी पत्नी सविना काफ्लेको सुरक्षार्थ खटीएका सादा पोशाकका प्रहरीले समेत बालेनलाई भोट माग्दै गरेको भन्ने व्यहोराको श्रव्यदृश्य सामग्री प्राप्त भएकाले उनलाई दोस्रो पटक स्पष्टीकरण सोधिएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन प्रचार–प्रसारका क्रममा पत्नीसँग जाँदा सादा पोशाकका प्रहरी खटिएको सम्बन्धमा के कसो भएको हो ? भनि आयोगले शाहलाई स्पष्टीकरण सोधेको हो । आयोगले शाहलाई तीन दिन भित्र जवाफ माग गर्दै स्पष्टीकरण माग गरेको हो ।

यसअघि माघ १३ गते पनि आयोगले बालेनलाई स्पष्टीकरण सोधेको थियो । बालेनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्टाटसमार्फत् ‘आतंकवादी’ भनेको भन्दै उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको हो ।

त्यस्तै आयोगले नेपाली कम्युनिष्ट पार्टी सिन्धुपाल्चोक १ का उम्मेदवार माधव सापकोटा र रास्वपा बाजुराका उम्मेदवार हेमराज थापासहित थप ९ जनालाई स्पष्टीकरण सोधेको छ । हालसम्म २९ जनालाई स्पष्टीकरण सोधिएकोमा १४ जनाले मात्रै जवाफ बुझाएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार