राजनीति
बि.स. २००६ साल वैशाख १० गते नेपालको पहिलो कम्युनिष्ट पार्टी भारतको कलकत्तास्थित श्यामबजारमा गठन भयो।
पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास श्रेष्ठ र मोतीदेवी कम्युनिष्ट पार्टीका संस्थापक थिए।
५ जनाबाट सुरू भएको कम्युनिष्ट पार्टी जबजब बढ्दै गयो जुटभन्दा धेरै फुटको इतिहास बन्यो। भनिन्छ- ७० वर्षे इतिहासमा कम्युनिष्ट पार्टी ७० पटक भन्दा बढी नै फुट्यो।
नेपाली कम्युनिष्टहरूले साम्यवादमा विश्वास गर्ने भने पनि त्यसैमा शंका उठ्ने गरी पार्टी फुटाउँदै गए। कहिले आफ्नै नेतामा विश्वास गरेनन् कहिले पार्टीको सिद्धान्तमै शंका गरे।
स्थापनाको ४ वर्षपछि २०१० मा पार्टीको पहिलो महाधिवेशन भयो, महासचिवमा मनमोहन अधिकारी निर्वाचित भए। १४ सालको दोस्रो महाधिवेशनबाट केशरजंग रायमाझी महासचिव बने। उनी सुरूदेखि नै राजालाई मानेर अघि बढ्नुपर्छ भन्नेमा थिए। उनकै कारण २०१७ सालपछि कम्युनिष्ट पार्टी पहिलो पटक विभाजन भयो।
२०१७ साल पुष १ गते जब राजा महेन्द्रले शासनसत्ता हातमा लिएर निर्वाचित प्रधानमन्त्री विपि कोइरालालाई जेल हाले रायमाझीले त्यसको स्वागत गरे। पुष्पलाल, मोहनविक्रम सिंह र तुलसीलाल अमात्य र मनमोहन अधिकारी भने रायमाझिको विपक्षमा थिए। रायमाझि कालान्तरमा राजदरबार पसे। पुष्पलाल तुलसीलाल अमात्य, मोहनविक्रम सिंह र मनमोहन अधिकारीजस्ता नेताहरु पनि क्रमश: त्यतिखेरका शक्तिशाली कम्युनिष्ट राष्ट्रलाई हेर्ने दृष्टीकोणमा विभाजित हुन थाले।