राजनीति
काठमाडौं । सर्वाेच्च अदालतका वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले आजदेखि कायम मुकायम (कामु) प्रधानन्यायाधीशको जिम्मेवारी प्राप्त गरेकी छिन् ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण मंगलबार अवकाश पाएपछि सर्वोच्च अदालतकी बरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी हुन् ।
नेपालको संविधानको धारा १२९ (९) अनुसार प्रधानन्यायाधीशको पद रिक्त भएमा बरिष्ठतम न्यायाधीशले स्वतः कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने व्यवस्था छ।
नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि न्यायपरिषदले अघिल्लो महिना नै प्रधानन्यायाधीश हुन योग्यता पुगेका सर्वोच्च अदालतका ६ जना न्यायाधीशको रोष्टर (सूची) संवैधानिक परिषदमा पठाएको थियो ।
त्यतिबेला परिषदले बरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल सहित न्यायाधीशहरु कुमार रेग्मी, हरि फुयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सूचीमा समावेश गरेको थियो । संविधान अनुसार, सर्वोच्च अदालतमा तीन वर्ष न्यायाधीश भएको र ६५ वर्ष उमेर नपुगेको व्यक्ति प्रधानन्यायाधीश हुन योग्यता पुगेको मानिन्छ ।
जेनजी आन्दोलन भएपछि संवधानिक परिषद् अपूर्ण रहेकाले नयाँ प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढ्न सकेको छैन् । अब चैत्र १९ गते संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरिएको छ । सभामुख चयन भएपछि प्रधानन्यायाधीशको चयन पक्रया अघि बढ्नेछ ।
बरिष्ठ अधिवक्ता एवं पहिलो संविधानसभा सदस्य रहेकी सपना प्रधान मल्ल १७ साउन २०७३ मा सर्वोच्च अदालतको न्यायाधीश भएकी थिइन् ।