राजनीति
निर्मला पन्तको बलात्कार र हत्या प्रकरणका एकजना शंकास्पद युवालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा ति युवालाई सुरक्षाकर्मीसँग अभद्र ब्यवहार गरेको आरोपमा राखिएको खुलेको छ।
मंगलबार साँझ केन्द्रीय अनुसन्धान ब्युरोले पछिल्लो ४ दिनदेखी निगरानी गरिरहेका कञ्चनपुर भिमदत्त नगरपालिका १८ का युवा प्रदिप रावललाई नियन्त्रणमा लिएर महाराजगञ्ज वृत्तमा राखेको हो। निर्मला र उनको घर नजिक पर्छ।
स्रोतका अनुसार रावल मंगलबारदेखि अभद्र मुद्दा शिर्षकमा वृत्तको हिरासतमा छन्। ब्युरोले सामान्य मुद्दा चलाउँदा अदालतबाट हिरासत म्याद लिन अप्ठेरो हुने भएपछि नजिकै रहेको वृत्तमा पठाईएको हो।
उनको घटनामा संलग्नता हुनसक्ने आशंकामा डिएनए परीक्षणका लागि रगत समेत पठाईएको छ। १८ वर्षका रावलको डिएनए म्याच भएमा उनी विरुद्ध ब्युरोले कारवाही चलाउने छ।
स्रोतका अनुसार अनुसन्धान टोलीले दैनिक रुपमा कञ्चनपुरसँग जोडिएर काठमाडौंमा बसोबास गरिरहेका केही युवाहरुसँग सोधपुछ गरिरहेको छ।
रावल पक्राउबारे प्रहरीले भने आधिकारिक रुपमा केही खुलाएको छैन। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले निर्मलाको घटनामा कसैलाई पक्राउ नगरेको दाबी गरेको छ।