logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

राष्ट्रिय सभा उपाध्यक्ष र चिनियाँ राजदूतबीच भेटवार्ता


  • राजनीति
  • बिहिबार, बैशाख १७ २०८३

काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष लिलाकुमारी भण्डारीसँग चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन् ।

बिहिवार सिंहदरबारस्थित उपाधयक्ष भण्डारीको कार्यकक्षमा पुगेर राजदूत चाङले भेटवार्ता गरेका हुन् । भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय सहकार्य, आपसी सहयोग र समसामयिक सन्दर्भमा कुराकानी भएको थियो ।

भेटमा उपाध्क्ष भण्डारीले नेपाल एक चीन नीतिप्रतिको प्रतिबद्धता दोहोर्‍याइन् । ‘हामी एक चीन नीतिप्रति सधै प्रतिबद्ध छौँ,’ उनले भनिन्, “हामी हाम्रो भूमिमा चीनको हितविरुद्ध कुनैपनि गतिविधि हुन दिने छैनौंँ ।”

नेपालको सार्वभौमिकता र स्वतन्त्रताप्रति चीनले दर्शाउँदै आएको सम्मानलाई नेपालले सधैँ उच्च महत्त्व दिएको उनले जानकारी दिइन् ।

आगामी दिनमा पनि नेपालको संविधान, असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्त अनुसार नै अगाडि बढ्ने चर्चा गर्दै उपाध्यक्ष भण्डारीले चीनले नेपालको पूर्वाधार विकास लगायत आर्थिक, सामाजिक क्षेत्रमा गरेको सहयोग अतुलनीय रहेको र आगामी दिनमा पनि सहयोग निरन्तर भइरहने विश्वास पनि व्यक्त गरिन् ।

चिनियाँ लगानीकर्ताहरूका लागि नेपाल एक आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको चर्चा गर्दै उपाध्यक्ष भण्डारीले थप चिनियाँ लगानी आकर्षित तथा सहजीकरण गर्न नेपालले आफ्ना नीतिहरूलाई व्यवसायमैत्री र लगानीमैत्री गर्ने दिशामा सक्रियतापूर्वक कार्य गरिरहेको जानकारी पनि गराएकी थिइन् ।

सो अवसरमा राजदूत चाङले दुई देशबिच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै पारस्पारिक लाभमा आधारित मैत्री सम्बन्ध कायम रहेको बताए । दुवै देशका राष्ट्रपतिकै तहबाट भ्रमण आदान प्रदान भएपछि दुई देशबिचको सहकार्य र सहयोगमा उल्लेख्य वृद्धि भएको र सम्बन्ध नयाँ उँचाईमा उठेको पनि उनको भनाई थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार