राजनीति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले थप ३ अध्यादेश जारी गरेका छन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार पौडेलले शनिबार एक विज्ञप्ति जारी गर्दै नेपाल सरकार मन्त्रीपरिषद्को सिफारिस अनुसार राष्ट्रपति पौडेलले तीन अध्यादेश जारी गरेका हुन् ।
स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ र विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ गरी तीन वटा अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यस अघि राष्ट्रपतिले बिहिवार सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३, सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका थिए भने शुक्रबार सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका थिए ।
यो सँगै राष्ट्रपति पौडेलले बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सिफारिस गरेकामध्ये ६ वटा अध्यादेश जारी गरिसकेका छन् भने अन्य अध्यादेशको बारेमा अन्तरिक रुपमा छलफल गरिरहेको जनाइएको छ । सरकारले बोलइसकेको संसद बैठक स्थगित गरेर अध्यादेश ल्याएको भन्दै विपक्षी दलहरुले विरोध गरिरहेका छन् ।
