राजनीति
काठमाडौं । विराटनगर विमानस्थलमा स्रोत नखुलेको अवैध रकम ओसारपसारमा गर्ने गिरोहविरुद्ध प्रहरीले निगरानी बढाएसँगै पक्राउ पर्नेको संख्या बढेको छ ।
पछिल्लो दुई दिनमा छुट्टाछुट्टै उडानमार्फत् काठमाडौं आउन लागेका दुई जना व्यक्तिलाई प्रहरीले करिब २७ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको छ । शनिबार दिउँसो श्री एयरलाइन्सको विमानमार्फत् काठमाडौं जान लागेका भारतीय नागरिकलाई विमानस्थल सुरक्षा गार्डले ठूलो परिणामको नगदसहित नियन्त्रणमा लिएको हो ।
भारतको मालदह जिल्ला सुजागञ्जका ३६ वर्षीय मोहिदिल अलीको झोला चेकजाँच गर्दा स्रोत नखुलेको १५ लाख ९८ हजार रुपियाँ फेला परेको थियो । यसअघि शुक्रबार राति पनि विमानस्थलबाटै स्रोत नखुलेको रकमसहित एक नेपाली नागरिक पक्राउ परेका थिए ।
बुद्ध एयरको उडानबाट काठमाडौँ प्रस्थान गर्न लागेका सुनसरी, धरान उपमहानगरपालिका –१८ का ३५ वर्षीय दिलीप तामाङलाई ११ लाख रुपियाँसहित प्रहरीले नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका दुवै व्यक्तिले आफूसँग भएको नगदको वैध स्रोत खुलाउन नसकेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको छ । दुई दिनको अवधिमा विमानस्थलबाट कुल २६ लाख ९८ हजार रुपियाँ बरामद भएको छ ।
बरामद गरिएको रकमसहित तामाङ र अलि दुवैलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको प्रहरीले जनाएको छ । विमानस्थलबाट दिनहुँजसो स्रोत नखुलेको रकम बरामद हुन थालेपछि सुरक्षाकर्मीले चेकजाँचमा थप कडाइ गरेको छ ।