logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

भूजडित’बनाउन चीन तयार,एक चीन नेपालको आधार


  • राजनीति
  • मंगलबार, असार २ २०८३

चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालसँग उच्च गुणस्तरीय बेल्ट एन्ड रोड (बिआरआई) सहकार्यलाई अगाडि बढाउँदै नेपाललाई भूपरिवेष्ठित राष्ट्रबाट भूजडित राष्ट्रमा रूपान्तरण गर्न तयार रहेको बताएका छन् ।

बेइजिङमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँगको भेटवार्ताका क्रममा उनले उक्त धारणा राखेका हुन् । वाङले चीनको नेपालप्रतिको मैत्रीपूर्ण नीति सम्पूर्ण नेपाली जनताप्रति केन्द्रित रहेको उल्लेख गर्दै बेइजिङले सधैं काठमाडौंसँगको सम्बन्धलाई आफ्नो छिमेकी कूटनीतिको महत्वपूर्ण स्थानमा राखेको उल्लेख गरेका छन् ।

उनले जनसमर्थनका आधारमा नेपालको नयाँ सरकार प्रभावकारी रूपमा शासन सञ्चालन गर्न सफल हुने चीनको चाहना रहेको बताए । नेपालले ‘एक चीन नीति’प्रति व्यक्त गरेको दृढ प्रतिबद्धता तथा ताइवान र सिजाङ (तिब्बत) सम्बन्धी चीनका मूलभूत हितका विषयमा दिएको समर्थनलाई चीनले उच्च मूल्याङ्कन गरेको पनि उनैले बताए ।

दुई देशबीचका विभिन्न सहकार्य संयन्त्र तथा मञ्चहरूको प्रभावकारी उपयोग गर्दै व्यावहारिक सहयोगलाई गहिरो बनाउनुका साथै जनस्तरको आदानप्रदान विस्तार गर्नुपर्नेमा चीनले जोड दिएको छ ।

वाङले चिनियाँ कम्पनीहरूलाई नेपालमा लगानी र व्यवसाय विस्तार गर्न प्रोत्साहित गरिएको उल्लेख गर्दै नेपालले उनीहरूका लागि अझ निष्पक्ष,पारदर्शी र लगानीमैत्री व्यावसायिक वातावरण निर्माण गर्ने आशा राखेका छन् । बहुपक्षीय मञ्चहरूमा पनि नेपाल र चीनबीच समन्वय बढाउन तथा विकासशील राष्ट्रहरूको साझा हितको रक्षा गर्नुपर्नेमा वाङको जोड छ ।

प्रत्युत्तरमा परराष्ट्रमन्त्री खनालले नेपालको नयाँ सरकार जनमुखी विकासप्रति प्रतिबद्ध रहेको र नेपालले असंलग्न परराष्ट्र नीतिलाई निरन्तरता दिने बताए ।

उनले नेपालको विकास र जनजीविकामा सुधार ल्याउन चीनले लामो समयदेखि पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै चीनले नेपाललाई सधैं समान हैसियतमा व्यवहार गरेको तथा नेपालको सार्वभौमसत्ता र स्वतन्त्रताको सम्मान गरेको बताए ।

खनालले ताइवान र सिजाङका विषय चीनका आन्तरिक मामिला भएको उल्लेख गर्दै नेपाल ‘एक चीन नीति’प्रति दृढ रहेको, चीनको पूर्ण राष्ट्रिय एकीकरणलाई समर्थन गर्ने र नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता दोहोर्याएका छन् ।

चीनको विकासलाई नेपालका लागि अवसरका रूपमा व्याख्या गर्दै उनले चिनियाँ लगानीलाई नेपालले स्वागत गर्ने तथा कानुनसम्मत, निष्पक्ष र मैत्रीपूर्ण व्यावसायिक वातावरण उपलब्ध गराउने बताए।

उनले उच्च गुणस्तरीय बिआरआई सहकार्यमा सक्रिय सहभागिता जनाउने, पूर्वाधार तथा अन्तरआबद्धता विस्तार गर्ने, विभिन्न क्षेत्रमा पारस्परिक लाभका आधारमा सहकार्य बढाउने र बहुपक्षीय मञ्चहरूमा समन्वय सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

खनालले मानवताको साझा भविष्य निर्माण गर्ने अवधारणाप्रति नेपाल सकारात्मक रहेको र चीनले अघि सारेका विभिन्न विश्वव्यापी पहलहरूलाई सक्रिय समर्थन गर्ने बताए।

समाचार स्रोत : चाइना डेली,

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार