राजनीति
नेकपा (एमाले) निकट युवाहरूको ‘पुनर्जागरण अभियान–२०८२’ अन्तर्गत गरिएको मत सर्वेक्षणमा ८७.६ प्रतिशत सहभागीले पार्टी नेतृत्व परिवर्तन हुनुपर्ने मत व्यक्त गरेका छन्।
अभियानका अनुसार सर्वेक्षणमा ९१.४ प्रतिशतले पार्टी रूपान्तरण, ९५.४ प्रतिशतले नेतृत्वको व्यवहार सुधार, ९४.९ प्रतिशतले नेतृत्वको कार्यशैली परिवर्तन, ८७.५ प्रतिशतले पार्टी नीति संशोधन तथा ८२.९ प्रतिशतले नेतृत्व चयनमा सबै संगठित सदस्यको प्रत्यक्ष मतदानको व्यवस्था हुनुपर्ने धारणा व्यक्त गरेका छन्।
गुगल फर्ममार्फत असार १२ देखि २२ गतेसम्म सञ्चालन गरिएको सर्वेक्षणमा नेपालसहित १४ देशका एमाले सदस्य, समर्थक, शुभेच्छुक तथा स्वतन्त्र नागरिक सहभागी भएका थिए। अभियान संयोजक गजेन्द्र थपलियाका अनुसार सर्वेक्षण प्रतिवेदन बिहीबार एमाले महासचिव शंकर पोखरेललाई बुझाइएको छ।
अभियानले सर्वेक्षणको उद्देश्य पार्टीको भावी दिशा, नेतृत्व हस्तान्तरण, संगठनात्मक पुनःसंरचना, पुस्तान्तरण र आन्तरिक लोकतन्त्रबारे कार्यकर्ता तथा शुभेच्छुकको धारणा संकलन गर्नु रहेको जनाएको छ।