राजनीति
नेपाली बजारमा लेबलिङ नभएका र गुणस्तरहीन महको बिगबिगी छ । सडक पेटीमा झोलामा राखेर बिनाकुनै मापदण्ड मह बिक्री हुने गरेका छन् ।
यस्ता महमा उपभोक्ताहरू ठगिएका मात्र हैन, जनस्वास्थ्यमै गम्भीर असर परिरहेको छ । नक्कली र मिसावटयुक्त महको जथाभावी बिक्री भइरहेको पाइएपछि नियमनकारी निकाय र प्रहरी प्रशासनले केही सक्रियता बढाएका छन् ।
गुल्मीमा मंगलबार प्रहरीले ठुलो परिमाणमा गुणस्तरहीन मह नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार रेसुङ्गा नगरपालिकाको बसपार्क क्षेत्रबाट नियन्त्रणमा लिइएको करिब ४०० केजी महजस्तो देखिने शंकास्पद पदार्थ प्रयोगशाला परीक्षण गर्दा अखाद्य प्रमाणित भएको थियो ।
खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय पाल्पामा गरिएको परीक्षणले उक्त नमुना सरकारले तोकेको मापदण्ड अनुकूल नरहेको पुष्टि गरेपछि सरोकारवाला निकायहरूको रोहवरमा त्यसलाई खाडल खनेर नष्ट गरिएको थियो ।
स्थानीय प्रशासनले उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने यस्ता गतिविधिविरुद्ध कडा कदम चाल्ने चेतावनीसमेत दिएको छ ।