राजनीति
भारतीय प्रधानसेनापति धिरज सेठ नेपाल भ्रमणमा आउँदैछन् । उनी आज दिउँसो ४ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ ।
उनले भोलि नेपालको मानार्थ महारथीको दर्जा ग्रहण गर्दैछन् । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजना हुने विशेष समारोहमा सेठलाई नेपालको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम छ ।
उनी गत जुन ३० मा भारतको प्रधानसेनापति नियुक्त भएका हुन् । उनले प्रधानमन्त्री बालेन्द्र शाह र प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गर्ने बताइएको छ ।
सेठ प्रधानमन्त्री बालेन शाहले सत्ता सम्हालेयता भारतबाट उच्चस्तरीय भ्रमणमा आउन लागेका पहिलो उच्च अधिकारी हुन् । यसअघि भारतीय विदेश सचिव विक्रम मिश्रीसँग भेट नगर्ने अडान प्रधानमन्त्रीले लिएपछि उब्जिएको कूटनीतिक गाँठो अघिल्लो साता नेपालका लागि भारतीय राजदूत नवीन के श्रीवास्तवसँग प्रधानमन्त्रीले भेट गरेपछि खुलेको थियो । लगत्तै भारतीय प्रधानसेनापति नेपाल आउनुलाई कूटनीतिक रुपमा अर्थपूर्ण ठानिएको छ ।
भारतीय पक्षले प्रधानमन्त्री शाहलाई चैतदेखि भ्रमणको निम्तो दिएको बताउँदै आए पनि उनी भारत भ्रमणका लागि तयार नभएको खबरहरु बेलाबखत बाहिरिने गरेको छ ।