logo आइतबार, साउन ३१ २०८३ | Sunday 16th August 2026

यस्ता छन् कांग्रेसको इतर समूहको राष्ट्रिय भेलाले पारित गरेका ५ प्रस्ताव


  • राजनीति
  • आइतबार, साउन ३१ २०८३

नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको ३ दिने राष्ट्रिय भेला ५ प्रस्ताव पारित गर्दै सकिएको छ । भेलाले पार्टीको आगामी महाधिवेशन, धार्मिक पहिचान र संविधान संशोधन लगायतका विषयमा बुँदे प्रस्ताव पारित गरेको हो ।

भेलाले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम १५ औँ महाधिवेशन सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। निवर्तमान सभापति शेरबहादुर देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन सम्पन्न हुने र उनकै नेतृत्वमा पार्टी एकताबद्ध हुने विश्वास भेलाले व्यक्त गरेको छ। महाधिवेशनसम्म पार्टीका नियमित क्रियाकलाप सभापतिको निर्देशनमा राष्ट्रिय भेला र सम्मेलनका संयोजकहरूले संयोजन गर्ने निर्णय भएको छ।

वि.सं. २०३३ सालमा जननायक बी।पी। कोइरालाले अवलम्बन गरेको राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई भेलाले पुनः स्मरण गरेको छ। वर्तमान असहज परिस्थितिमा राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरणका लागि सबै लोकतन्त्रवादी शक्तिहरूसँग संवाद गरी अघि बढ्ने निर्णय गरिएको छ।
भेलाले नेपालको सनातनदेखि चलिआएको धर्म र संस्कृतिलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रस्ताव पारित गरेको छ। हिन्दु, बौद्ध, किराँत र प्राकृत धर्मको संरक्षण गर्ने दायित्वलाई आत्मसात् गर्दै धार्मिक स्वतन्त्रता र सामाजिक सद्भाव सुनिश्चित गर्ने प्रतिबद्धता कांग्रेसले जनाएको छ। सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा राष्ट्रलाई अघि बढाउने भेलाको निर्णय छ ।

वर्तमान संविधानमा देखिएका कतिपय अस्पष्टता र जनअपेक्षालाई सम्बोधन गर्न आवश्यक संशोधनका लागि कांग्रेसले पहल गर्ने भएको छ। संविधानमा व्यवस्था भए अनुसार नै सबै पक्षसँग संवाद गरी निकास दिने प्रस्ताव भेलाले पारित गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार