logo आइतबार, साउन ३१ २०८३ | Sunday 16th August 2026

र्‍याडिसन होटलको ग्यास मौज्दातबारे अतिरञ्जित प्रचार गरिएको भन्दै चेम्बरको आपत्ति


  • राजनीति
  • आइतबार, साउन ३१ २०८३

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमको संयोजकत्वमा पाँचतारे र्‍याडिसन होटलमा गरिएको अनुगमनका क्रममा ग्यासको मौज्दात बढी राखिएको भनी गरिएको टिप्पणीप्रति नेपाल चेम्बर अफ कमर्सले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

आइतबार प्रेस विज्ञप्ति जारी गर्दै चेम्बरले पर्यटन तथा आतिथ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको होटलको व्यावसायिक प्रतिष्ठामा असर पर्ने गरी अपूर्ण वा सन्दर्भहीन सूचना सार्वजनिक गरिनु निजी क्षेत्र तथा समग्र पर्यटन उद्योगका लागि सकारात्मक नभएको उल्लेख गरेको हो।
पाँचतारे होटलमा दैनिक करिब ५० देखि ६० वटा ग्यास सिलिन्डरसम्म खपत हुनु स्वाभाविक रहेको चेम्बरले स्पष्ट पारेको छ। ‘र्‍याडिसन होटलमा करिब २०० हाराहारी सिलिन्डर मौज्दात रहनु पनि स्वाभाविक नै हो,’ चेम्बरले भनेको छ, ‘त्यसैले व्यावसायिक प्रयोगका लागि आवश्यक मौज्दातलाई मात्र आधार बनाएर त्यसलाई अस्वाभाविक वा गैरकानुनी गतिविधिसँग जोडेर निष्कर्ष निकाल्नु उपयुक्त हुँदैन।’

नेपाल चेम्बर अफ कमर्स कृत्रिम अभाव, अवैध कारोबार वा कानुनविपरीतका कुनै पनि गम्भीर गतिविधिको समर्थन नगर्ने विज्ञप्तिमा उल्लेख छ। वैध रूपमा सञ्चालनमा रहेका व्यावसायिक गतिविधिहरू हतोत्साहित गर्ने गरी गरिने अतिरञ्जित प्रचारले लगानीको वातावरणमा नकारात्मक असर पार्न सक्ने भएकाले यसतर्फ संवेदनशील हुन चेम्बरले सबै पक्षसँग आग्रह गरेको छ।

होटल, पर्यटन व्यवसाय एवम् अन्य उद्योग व्यवसायसँग सम्बन्धित आपूर्ति, नियमन वा अन्य कुनै समस्या देखिएमा सम्बन्धित निकायले व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थासँग आवश्यक संवाद र समन्वय गरी समाधान खोज्नुपर्नेमा चेम्बरले जोड दिएको छ। व्यवसायमा आवश्यक नियमन कायम राख्दै वैध लगानी र सञ्चालनलाई सहजीकरण गर्ने वातावरण निर्माण गर्नु अहिलेको आवश्यकता रहेको चेम्बरको धारणा छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार