राजनीति
राजधानीमा हिजो आयोजित एनडिटीभी समिटमा भाग लिएर भारतीय पाहुना टोली स्वदेश फर्केको छ । भारतीय राष्ट्रिय काँग्रेसका लोकसभा सदस्य तथा विदेश मामिलाविज्ञ डा. शशि थरुर,मध्य प्रदेशका विधान सल्लाहकार शशांक शेखर आज बिहान पौने ८ बजे एअर इण्डियाको उडान नम्बर एआई २१६मा काठमाडौंबाट नयाँ दिल्ली गएका छन् ।
अस्ति बिहान भोटेकोशी र त्रिशुलीमा आएको अकल्पनीय बाढी,सयौंको मृत्यु, हजारौं बेपत्ता,नुवाकोट र रसुवामा भएको हृदयविदारक घटनाको भोलिपल्ट राजधानीको पाँच तारे होटलमा मन्त्रीहरु, दलका नेता,सांसदहरु सहभागी भएको कार्यक्रम, रात्रिभोजलाई लिएर चर्को आलोचना भएको छ ।
सोही कार्यक्रमलाई लिएर वरिष्ठ पत्रकार कनकमणि दीक्षितले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस्तो गम्भीर विपद्को समयमा सहानुभूति केवल मनमा राखेर पुग्दैन,त्यसलाई व्यवहार र सार्वजनिक अभिव्यक्तिमार्फत् पनि देखाउनुपर्छ ।’ उनले सहानुभूति हुनुमात्रै पर्याप्त नभएकाले सहानुभूति व्यवहारमा नै देखाउनुपर्ने कुरोमा जोड दिएका छन् ।
बुधबार बिहान ११ बजे बसेको क्याबिनेट बैठकले मुलुकमा त्रासदी मच्चिसकेको ठहर गर्दै उद्दारका लागि विभिन्न निर्णय गरेको थियो । उक्त बैठकमा सहभागी परराष्ट्रमन्त्री,अर्थमन्त्रीहरु भोलिपल्ट पाँचतारे होटलमा आयोजित कार्यक्रममा सहभागी भएका थिए ।
हिजो आयोजित सर्वदलीय बैठकमा सहभागी सत्तारुढ तथा विपक्षी दलका नेताहरुलगत्तै उक्त कार्यक्रममा सहभागी भएका थिए । आज बिहान नयाँ दिल्ली फर्केका थरुरले सामाजिक सञ्जालमा हिजो राति अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, सांसद विदूषी राणालगायत सहभागी भएको रात्रिभोजको फोटो हालेपछि मुलुकमा व्याप्त त्रासदी र सरकारी अधिकारीहरुको संवेदनाबारे विभिन्न कोणबाट चर्चा भएको हो ।
उता चीनमा केरुङमा भएको त्रासदीपूर्ण मानवीय र भौतिक क्षतिका कारण सरकारले सबै निर्धारित यस्ता कार्यक्रम रद्ध गरेको छ । ल्हासाबाट प्राप्त समाचार अनुसार उद्धार, राहत र पुनस्र्थापनाका कार्यसँग सम्बन्धित बाहेक अन्य निर्धारित सबै कार्यक्रम हाललाई स्थगित गरिएको छ ।