राजनीति
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपद्को घडीमा कृत्रिम फोटोको सहारा लिएर स्टन्ट गर्नेहरूको कडा आलोचना गरेका छन्
पार्टी मुख्यालय च्यासलमा बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्दै उनले विपदको यो बेला सस्तो लोकप्रियतामा नरमाउन आग्रह गरे । बाढीपहिरोका कारण देशले अकल्पनीय धनजनको क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै ओलीले यस्तो बेला प्रविधिको दुरुपयोग गरी कृत्रिम दृश्यहरू निर्माण गरेर प्रचारबाजीमा लाग्नेहरूप्रति असन्तुष्टि जनाएका हुन् ।
‘यस दुःखद् घडीमा हजारौँको संख्यामा जीवनको क्षति र करोडौँको अनुपातमा धनमाल तथा संरचनाको विनाश भएको छ । यस्तो समयमा हामीले पीडितलाई अधिकतम सेवा पुर्याउनेतर्फ लाग्नुपर्छ’, उनले भने, ‘कोही एआईको सहायताले कृत्रिम दृश्यहरू चित्रण गरी आफूलाई जनताको सेवक देखाउन खोजिरहेका छन् । मैले पहिले पनि भनेको थिएँ, हामी यतिबेला लोकप्रिय हुने होइन, पीडितको सेवामा लाग्ने हो । कृत्रिम फोटोहरू खडा गरेर प्रचार गर्ने समय यो होइन ।’
अध्यक्ष ओलीले सम्पूर्ण ध्यान र सामथ्र्य राहत तथा पुनःस्थापनामा लगाउनुपर्ने बताउँदै प्रचारमुखीभन्दा सेवामुखी हुन सबैलाई आग्रह गरेका छन् । अहिलेको मुख्य प्राथमिकता उद्धार, राहत तथा पुरिएका संरचनाबाट धनमाल निकाल्ने हुनुपर्नेमा उनले जोडसमेत दिए ।