राजनीति
गत भदौ १० गते रसुवाको भोटेकोशी हुँदै आएको विनाशकारी बाढीमा परेर ज्यान गुमाएका नेपाल प्रहरीका परिवारले २४ लाख पाँच हजार रुपैयाँ पाउने भएका छन् । मृतक प्रहरी परिवारले राहतस्वरुप पाउने आर्थिक सुविधाबारे द्विविधा भएपछि प्रहरी प्रधान कार्यालयको सञ्चारले मातहतका सबै कार्यालयलाई परिपत्र गर्दै यसबारे प्रष्ट पारेको हो ।
प्रहरी हेडक्वार्टरका अनुसार मृतकका परिवारले विभिन्न शीर्षकबाट कूल २४ लाख पाँच हजार रुपैयाँ पाउनेछन् । जसमा कल्याण कोषबाट ४० हजार किरिया खर्चसहित तीन लाख ४० हजार,राष्ट्रिय वाणिज्य बैंक बीमाबाट पाँच लाख,राष्ट्रिय बीमा संस्थानबाट दुई लाख,संगठनबाट विशेष राहत दश लाख,सञ्चयकोष दुर्घटना क्षतिपूर्ति दुई लाख तथा किरिया खर्च ४० हजार र नागरिक लगानी कोषमा स्वैच्छिक बचतकर्तालाई कामको दुर्घटनाबापत एक लाख र २५ हजार रुपैयाँ किरिया खर्च उपलब्ध हुनेछ ।
यसबारे सम्पूर्ण प्रहरी कर्मचारीलाई अनिवार्य रुपमा जानकारी गराउनसमेत निर्देशन दिइएको छ । भनिएको छ, ‘कतिपय प्रहरी कर्मचारीले राहतस्वरुप पाउने आर्थिक सुविधाको बारेमा द्विविधा रहेको भन्ने गुनासो प्राप्त भएको हुँदा सम्बन्धित कार्यालय प्रमुखले दिलचस्पी दिई निम्नानुसारको आर्थिक सुविधाको बारेमा सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई अनिवार्य रुपमा (रोलकलमा समेत) जानकारी गर्न गराउनहुन अनुरोध छ ।’