राजनीति
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताको चाहना र आकांक्षाअनुसारको समाज निर्माण गर्न अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन्।
काठमाडौंको खुलामञ्चमा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङ्देनले राजनीतिक दल र सत्तामा परिवर्तन आए पनि जनताका समस्या समाधान हुन नसकेको बताएका हुन्।
उनले देशको वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै मुलुक झन् राजनीतिक अस्थिरतातर्फ धकेलिएको टिप्पणी गरे। देश सही दिशामा अघि बढ्न नसकेको उल्लेख गर्दै उनले राजनीतिक दलहरूलाई गम्भीर हुन आग्रह गरे।
‘देश अँध्यारो सुरुङतर्फ प्रवेश गरेको छ। राजनीतिक तरलता झन् बढेर गएको छ,’ उनले भने, ‘दलहरूसँग आग्रह छ, अहिले पनि देश ठीक ठाउँमा आएको छैन। लिकभन्दा बाहिर गएको छ।’
लिङ्देनले विगत र वर्तमानमा विरोध गर्नेहरूमाथि हुने व्यवहारमा परिवर्तन आए पनि असहिष्णु राजनीतिक संस्कार कायमै रहेको बताए। विगतमा विरोध गरे गोली प्रहार हुने गरेको र अहिले सामाजिक सञ्जालमार्फत आक्रमण हुने गरेको उनको भनाइ थियो। उनले समस्या व्यक्ति र नेतृत्वमा मात्र नभई राजनीतिक व्यवहार र व्यवस्थामा समेत रहेको औँल्याए।
उनले विगतमा राम्रो सोचका साथ संविधान निर्माण गरिए पनि त्यसको कार्यान्वयनका क्रममा देखिएका कमजोरी सुधार गर्दै अघि बढ्नुपर्ने धारणा राखे।
राजा र राजनीतिक दलबीच विगतमा एकअर्कालाई निषेध गर्ने प्रवृत्ति रहेको उल्लेख गर्दै लिङ्देनले निषेधको राजनीतिले कसैको हित नगर्ने बताए। उनले सबै पक्षलाई समेटेर नयाँ राजनीतिक सहमति कायम गर्नुपर्नेमा जोड दिए।
२००७, २०४६ र २०६२/६३ सालका राजनीतिक परिवर्तनसँगै जेनजी आन्दोलनपछिको अवस्थालाई समेत स्वीकार गर्दै नयाँ पुस्तासहितको नवीन समझदारी निर्माण गर्नुपर्ने उनको भनाइ थियो। यस्तो सहमतिबाट मात्रै मुलुकलाई सही दिशामा अघि बढाउन सकिने उनले बताए।