राजनीति
काठमाडौं – अन्तराष्ट्रिय मानव अधिकार दिवसका दिनै प्रहरीले २५ अधिकारकर्मीहरुलाई गिरफ्तार गरेको छ । ७० औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसका दिन सोमबार मानव अधिकार तथा शान्ति समाज नेपालले प्रधानमन्त्री निवास वालुवाटार अगाडि आयोजना गरेको विरोध प्रदर्शनबाट अधिकारकर्मीहरुलाई गिरफ्तार गरेको हो ।
प्रहरीले शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी सहित २५ जनालाई गिरफ्तार गरी महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखेको छ ।
२०७५ साउन १० गते कञ्चनपुरमा १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कार पश्चात हत्याको घटनामा दोषीको पहिचान हुन नसक्नु राज्यको अक्षमता ठहर गर्दै राज्यको अक्षमता र दण्डहीनताको कहालीलाग्दो सिलसिला विरुद्ध शान्ति समाजले विरोध प्रदर्शन आयोजना गरेको हो ।
विरोध प्रदर्शनमा पिडितलाई न्याय पिडकलाई सजाय, महिलाहरु माथि हुने हिंसा र अत्याचार जघन्य अपराध हो, मानव अधिकार संरक्षण गर, महिलामाथि भइरहेको अत्याचार अन्त्य गर, दण्डहीनता अन्त्य गर लगायतका प्लेकार्डहरु प्रदर्शन गरिएको थियो ।