logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

तनहुँका महिला हाते ट्र्याक्टरले खेतबारी जोत्दै


  • राजनीति
  • सोमबार, बैशाख २ २०७६

तनहुँ- तनहुँको भिमाद नगरपालिका–९ पाथर्दीकी कल्पना थापाले हाते ट्र्याक्टरले खेतबारी जोत्न थालेको तीन वर्ष पुग्यो । पहिला खेताला खोजेर गोरु लगाएर बारी जोत्ने उनी अहिले आफैले सजिलै ट्र्याक्टर चलाएर खेतबारी जोत्छिन् ।

गाउँमा गोरु नै पाल्न छाडेपछि हिजोआज कल्पना जस्तै अन्य किसान हाते ट्र्याक्टरले नै खेतबारी जोत्न थालेकि छिन् । गोरुले जोत्दा दिनभर लाग्ने काम हाते ट्र्याक्टर लगाउँदा केही घन्टामै सकिने हुँदा किसान ट्र्याक्टरप्रति आकर्षित भएका हुन् । महिलाले गोरु जोत्न हुन्न भन्ने मान्यता भए पनि गाउँमा हिजो आज महिला नै ट्र्याक्टरको चालक भएर खेतबारी जोत्न थालेका छन् ।

त्यसको उदाहरण बनेकी छिन् कल्पना । उनले भनिन् ,“पहिलो कुरा त गाउँमा गोरु नै पाइन छाड्यो, त्यसमाथि जोत्ने मान्छे पनि नपाइने । अहिले हाते ट्र्याक्टरले सजिलै जोत्न सकिने हुँदा समय र पैसाको पनि बचत भएको छ ।” श्रीमान् पूर्णबहादुरलाई काममा सघाउन कल्पना आफै ट्र्याक्टर लिएर बारी जोत्न अगाडि सर्छिन् । पूर्णबहादुर र कल्पना दुवै गाउँकै एक बोर्डिङ स्कूलका शिक्षक समेत छन् ।

विद्यालय जान घरबाट सँगै निस्कने र फर्कने उनीरु दुबै आलोपालो घर र खेतबारीको काममा खट्ने गरेका छन् । विगतमा खेतबारी जोत्ने बेलामा गोरु नपाएर कयौं दिन पालो पखर्नुपरेको स्मरण गर्दै कल्पनाले भनिन “गोरुले जोत्ने समयमा पहिला पहिला खेत जोत्नको लागि दिन हेराए झैं हुन्थ्यो, तर आजकल दिउँसो विद्यालय गएर पनि बिहानबेलुका आफैले ट्र्याक्टर लगाएर बारी जोत्न भ्याइन्छ ।” गाउँकै एक किसानसँग रु ३२ हजारमा उक्त ट्र्याक्टर खरीद गरेको उनले जानकारी दिइन् ।

उनका अनुसार गोरु लगाउदा भन्दा ट्र्याक्टर लगाउदा खेती धेरै उब्जनी भएको छ । भीमाद नगरपालिका–९ का अध्यक्ष इमान थापाले कृषिलाई आधुनिक र व्यावसायिक बनाउन हाते ट्र्याक्टर प्रयोग गर्न प्रोत्साहन गरिएको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार