राजनीति
पोखरा- गण्डकी प्रदेश सरकारले प्रतेक सांसदहरुलाई २ करोड रुपैयाँ दिने भएको छ। प्रादेश सरकारले निर्वाचन पूर्वाधार विकास कोषमार्फत २ करोड दिने भएको हो।
प्रदेश सांसदहरुले बजेट नपाएको गुनासो गरिरहँदा सो रकम प्रत्यक्ष निर्वाचित सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रको विकासमा खर्च गर्न पाउने छन्। सांसदहरुले अघिल्लो आर्थिक वर्षमा यस्तो बजेट नदिएपछि आफू वडाध्यक्षको हैसियतमा पनि नभएको भन्दै असन्तुष्टी जनाएका थिए। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आउँदो आर्थिक वर्ष २०७६०७७ मा बजेटको व्यवस्था गरेका हुन्। आइतबार प्रदेशसभा बैठक सम्बोधन गर्दै उनले सांसदहरुको मागबमोजिम बजेट विनियोजन गरेको बताए।
‘व्यक्तिलाई बजेट दिनु राम्रो त होइन, तर हाम्रा माननीयहरुले धेरै असन्तुष्टी जाहेर गरेपछि अरु प्रदेशको जस्तै हामीले पनि दिन लागेका हौँ’, मुख्यमन्त्री गुरुङले भने, ‘सांसदहरुसँग जनताको माग धेरै हुँदो रहेछ, सबैले पानी बनाइदिनुप¥यो, कुलो बनाइदिनुपर्यो भन्दा रहेछन्।’ उनले बजेट राम्रो काममा प्रयोग गर्न सांसदहरुसँग आग्रह पनि गरे। बजेटले प्रत्यक्ष निर्वाचित र समानुपातिकतर्फका सांसदहरुले पनि बजेट दिइने तर कार्यविधी बनाइने प्रष्ट पारे। उनका अनुसार निर्वाचन क्षेत्र तोकेर बजेट दिइने छ भने प्रत्यक्ष र समानुपातिक सांसदहरुको रकम भने फरक हुनेछ।