राजनीति
विर्तामोड – शनिबार पूर्वी तराई तथा पहाडमा विस्तारित चिया बगान बन्द भएको आज २८ दिन पुगेको छ।
तर चिया बगान कहिले खुल्छ अहिलेसम्म पत्तो छैन।चिया बगान तथा उद्योगका मजदुरले सरकारले तोकेको न्यूनतम ज्याला नपाएपछि हड्ताल गरि सडकमा निस्केका छन्। उनीहरुले सडकमा प्रदर्शन गर्नेदेखि, हतियार जुलुस, थालसम्म ठटाए । तर उनीहरुको कुरा कसैले नसुनिदिएको मजदुर नेताहरु बताउँछन्।
जिल्ला प्रशासन कार्यालय झापामा चिया मजदुरहरु धर्ना पनि बसे ।उद्योगीलाई प्रमुख जिल्ला अधिकारीले कानुन कार्यान्वयन गरेर हड्ताल समाप्त पार्न सहयोग गरिदिन आग्रह गर्दै पत्र लेखे।सबै क्षेत्रका मजदुरलाई श्रम ऐन २०७४ ले एक रुपले हेरेपछि चिया क्षेत्रमा समस्या देखिएको हो। चिया उद्योगीहरुका अनुसार चिया क्षेत्रलाई सबै क्षेत्रसँग मिलाइएकाले यो अवैज्ञानिक भएको हो।श्रम ऐनले चिया मजदुरको दैनिक ज्याला ३ सय ८५ रुपैयाँ तोकेको छ। तर उनीहरुले २ सय ७८ रुपैयाँ पाउँदै आएका छन्। त्यही नयाँ ज्याला गत साउन महिनादेखि पाउनुपर्ने माग गर्दै विगत सात दिनदेखि मजदुर आन्दोलनमा छन्।