राजनीति
पोखरा- नेपाल एयरलाइन्सले काठमाडौंबाट १ सय ३४ जना यात्रु बोकेर जापानको ओसाका सिधा उडान पुन: सुरू गरेको छ। एक वर्षअघि खरिद गरिएको एयरबसको ए३३० वाइड बडी जहजबाट उक्त उडान गरेको हो।
लामो दूरीको गन्तव्यमा उडान गर्ने भनेर खरिद गरिएका २ वाइड बडी जहाज अहिलेसम्म छोटो दूरीमै सिमित थिए।
जापानको ओसाकामा उडान पुन: सुरू गर्ने अनुमति पाएपछि एयरलाइन्सले गएको असारमै उडान गर्ने घोषणा गरे पनि तयारी नपुगेको भन्दै मिति सारेको थियो।
एयरलाइन्सको जापान उडान बिहीबारदेखि सुरू भएको छ। आज बिहान २ बजे काठमाडौंबाट जहाज उडेको छ।
पहिलो उडानमा टिकट काटेर यताबाट जाने यात्रु ७४ जना छन्। पर्यटन राज्यमन्त्री धनबहादुर बुढाको नेतृत्वमा नेपाली पर्यटन व्यवसायी, सांसद, नेपाल एयरलाइन्सका कर्मचारीसहित कूल १ सय ३४ जना यात्रु बोकेर एयरलाइन्सको वाइड बडी जापान गएको एयरलाइन्सका सहायक प्रवक्ता सुलेख मिश्रले जानकारी दिए।
जापान, कोरिया, साउदी अरबमा उडान गर्ने व्यापारिक योजाअनुसार जहाज ल्याइएको भए पनि कोरियाले उडान अनमुति दिन अस्वीकार गरिदिएको छ भने साउदी अरबमा पनि प्रक्रिया अघि बढ्न सकेको छैन। पछिल्लो समय एयरलाइन्सले जापानसँगै चीनमा पनि प्रक्रियाअघि बढाएको थियो।
एयरलाइन्सले ओसाका उडान हप्तामा ३ पटक गर्ने छ। काठमाडौं-ओसाका उडानको भाडादर एकतर्फी ४० हजार तोकिएको छ। यद्यपी प्रवर्द्धनात्मकमात्र हो।
सम्झौताअनुसार अबदेखि हप्ताको १४ तथा दैनिक २ उडान नेपालबाट जापानका विभिन्न सहरमा गर्न मिल्ने छ। नेपाली एयरलाइन्सहरूले जापानका विमानस्थलबाट अमेरिका बाहेकका अन्य देशका विमानस्थलमा पनि उडान गर्नसक्ने छन्।