logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

कृषिमा उत्पादकत्व वृद्धिका लागि म्याग्दी अन्नपूर्ण गाउँपालिका ८ वटै वडामा माटो परीक्षण


  • रासस
  • आइतबार, मंसिर १ २०७६

पोखरा -उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कृषिमा उत्पादकत्व वृद्धिका लागि पहिलोपटक ८ वटै वडामा माटो परीक्षण गरेको छ ।
संयुक्त राज्य अमेरिकाको अबिरल फाउण्डेशनका लेस्लीसहित विदेशी कृषि प्राविधिकहरुको टोलीले ३ दिन लगाएर माटोको परीक्षण गर्नुका साथै अन्नपूर्ण गाउँपालिकाका लागि उपयुक्त हुने कृषि बालीको समेत सिफारिश गरेको गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले जानकारी दिए।

अध्यक्ष पुनका अनुसार गाउँपालिकामा किट बक्स विधि प्रयोग गरेर माटोका परीक्षण गरिएको हो । सोही अवसरमा माटोमा नाइट्रोजन, फस्फोरस, पोटास, प्राङ्गारिक पदार्थको मात्राको मापन पनि गरिएको थियो । गाउँपालिकाभित्रका हरेक ठाउँका माटोको अवस्था र उर्वराशक्तिबारे जानकारी लिएर सोही अनुकूलको खाद्यान्न, तरकारी र फलफूलको बीउ मगाई आत्मनिर्भर हुने खेतीलाई अपनाइने गाउँपालिकाको योजना रहेको बताइएको छ ।

कृषि क्षेत्रलाई व्यवस्थित गर्नका लागि माटो परीक्षणको काम गरिएको गाउँपालिकाले जनाएको छ । माटोमा रहेको उर्वराशक्तिलाई थप बिग्रन नदिनका लागि सुधारका काम गर्न पनि परीक्षण उपयोगी हुने प्राविधिक टोलीका सदस्य प्रशन्न केसीले बताए।
माटो परीक्षणमा एग्रिकल्चरका निशन देवकोटा, प्रशन्न केसी, निशा घिमिरेलगायतको प्राविधिक टोलीले सघाएका थिए । साथै माटो परीक्षणका लागि प्रत्येक वडाका करीब नौ जनाको समूहलाई तालीम दिइएको थियो ।

साथै प्रत्येक वडामा २ थानका दरले रु २ लाख ५० हजार बराबरको माटो परीक्षण गर्ने किट बक्स उपकरण वितरण गरिएको फाउण्डेशनले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार