logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

अलैँचीको ‘हब’ बन्दै गरेको लमजुङमा कृषकले लागत मूल्य पनि पाएनन्


  • रासस
  • मंगलबार, पुष ८ २०७६

पोखरा – अलैँचीको ‘हब’ बन्दै गरेको पहाडी जिल्ला लमजुङमा कृषकहरुले अलैँची दाना बिक्रीबाट गत वर्षभन्दा यस वर्ष झण्डै दोब्बर आम्दानी गरेका छन् । जिल्लामा उत्पादित दुई हजार क्विन्टल अलैँची बिक्रीबाट कृषकले मनग्ये आम्दानी गरेका हुन् ।

गत वर्षभदा यस वर्ष रु चार करोड पाँच लाख बढी आम्दानी जिल्लाका कृषकले गरेका छन् । गत वर्ष उत्पादित ७ सय ५० क्विन्टल बिक्रीबाट कृषहरुले रु पाँच करोड २५ लाख आम्दानी गरेका थिए । यहाँका कृषकले रु १३ करोडसम्म आम्दानी लिएका थिए । त्यस्तै आर्थिक वर्ष २०७३७४ मा उत्पादित ६ सय क्विन्टल बिक्रीबाट रु चार करोड ४८ लाख आम्दानी भएको थियो ।
जिल्लामा यस वर्ष सबैभन्दा बढी अलैँची उत्पादन गरेका दोर्दी गाउँपालिका–८ खिम्चोकका कृषक मनबहादुर तामाङले आठ क्विन्टल अलैँची उत्पादन गरे । केही वर्षअघि अलैँची व्यवसायमा हौसिएका कृषकले विस्तारै राम्रो आम्दानी गर्न नसकेपछि निराश बन्दै गएका बेला यस वर्ष राम्रो आम्दानी भएपछि केही आशा जागेको उनले बताए ।

उत्पादन बढ्दा आम्दानीसमेत वृद्धि भएको नेपाल अलैँची व्यवसायी महासङ्घ गण्डकी प्रदेश संयोजक अध्यक्ष अजय तामाङले जानकारी दिनुभयो । जिल्लाका किसानले कुनै बेला प्रतिकिलो रु दुई हजार २ सय सम्म अलैँची दाना बिक्री गरेका थिए । तर त्यसयता सो रकमको आधा मूल्यसमेत पाउन सकेका छैनन् । यस वर्ष प्रतिकिलो रु ६सय का दरले अलैँची बिक्री गरेका छन् । अलैँची कृषकले कम्तीमा पनि प्रतिकिलो रु एक हजार हुनुपर्ने माग गर्दै आए पनि उक्त मूल्यमै अलैँची बिक्री गर्न बाध्य हुँदै आएका छन् ।

उनले जिल्लामा ७ सय मिटरदेखि एक हजार २ सय मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बरशाही र एक हजार २ सय मिटरदेखि एक हजार ६ सय मिटर उचाइमा गोलशाही र एक हजार ६ सय देखि दुई हजार २ सय मिटर उचाइमा रामशाही र भलाङे जातका अलैँची बिरुवा लगाउँदै आएको जानकारी दिए ।

जिल्लामा एक हजार ५० हेक्टर क्षेत्रफल जमीनमा अलैँची खेती गरिँदै आए पनि ६ सय ५० हेक्टर क्षेत्रफल जमीनमा अलैँची उत्पादन हुँदै आएको छ । जिल्लामा एक नगरपालिका र चार गाउँपालिकालाई अलैँची जोन क्षेत्रसमेत घोषणा गरिएको छ । बेँसीशहर नगरपालिका, दोर्दी गाउँपालिका, क्व्होलासोथर गाउँपालिका, मस्र्याङ्दी गाउँपालिका र दूधपोखरी गाउँपालिका अलैँची जोन क्षेत्र रहेका छन् ।

जिल्लामा उत्पादित अलैँची दानाको माग उच्च रहँदै आएको छ । कृषकहरु मागअनुसार अलैँची दानाको मूल्य नपाएको कृषक बताउँछन् । “तेस्रो मुलुकमा अलैँची निकासी गर्न सक्दैनौं तबसम्म कृषकले भनेको जति मूल्यमा बिक्री गर्न सक्दैनौँ । ” अलैँची जिल्ला शाखा लमजुङका अध्यक्ष समेत रहेका तामाङले भने । उनले भने, “हामी तेस्रो मुलुकमा जिल्लामा उत्पादित अलैँची निकासी गर्ने प्रयासमा छौँ ।”

गत वर्ष अलैँची कृषकलाई प्रोत्साहन गर्नका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ३४ कृषकलाई अलैँची भट्टी वितरण गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार