स्याङ्जा- स्याङ्जाको गल्याङ नगरपालिका -११ जिमूहाका किसानले सामूहिक आलुखेती गरेका छन् । जिमूहा कृषिउपज कृषक सहकारी संस्थामा आबद्ध ५२ कृषकहरुले करीब ५०० रोपनी जग्गामा सामूहिकरुपमा आलुखेती गरेका हुन् ।
आँधीखोला पानी उपभोक्ता समूह (आक्वा) र जिमूहा कृषिउपज कृषक सहकारी संस्थामा आबद्ध भएका जिमूहा, कर्मचौर, कामलाङ, दिमिक, लल्याङ, बल्पुकलगायतका क्षेत्रका किसानले सामूहिक आलु खेती गरेको सहकारीका अध्यक्ष रुमलाल कँडेलले बताए । आलुको पकेट क्षेत्र मानिएको जिमूहामा निर्माण भएको शीतभण्डारमा रहेको १३० टन आलुको बीउ र राष्ट्रिय आलुबाली अनुसन्धान केन्द्र खुमलटार ललितपुरबाट २० टन गरी झण्डै १५० टन आलुको बीउ सामूहिकरुपमा लगाइएको सहकारीका अध्यक्ष कँडेलले बताए ।
‘व्यक्तिगत रुपमाभन्दा सामूहिकरुपमा व्यावसाय गर्दा सहज हुने गरेको अनुभव समूहमा आबद्ध किसानहरुको छ’, अध्यक्ष कँडेलले भने, ‘सहकारीमार्फत नै सामूहिक आलु लगाइएको र उत्पादित आलुको बजारीकरण पनि सहकारीमार्फतै गर्ने व्यवस्था मिलाइएको छ ।’ स्थानीय कृषकले निर्वाहमुखी कृषिका माध्यमबाट उत्पादन गर्दै आएको आलुखेतीलाई थप व्यवस्थित बनाउँदै व्यावसायिकरुपमा अघि बढाउन संस्थामार्फत पहल गरेको सहकारीका अध्यक्ष कँडेलले बताए ।
सहकारीमार्फत सामूहिक आलुखेती गरेका यहाँका किसानले व्यक्तिगतरुपमा पनि ठूलो परिमाणमा आलुखेती गरेका छन्, अगुवा कृषक चन्द्रकान्त डुम्रेले बताए ।आलुका लागि जिल्लाकै पकेट क्षेत्र मानिने यस ठाउँमा उत्पादन भएको आलु तथा बीउ आलु स्याङ्जासहित भैरहवा, बुटवल, पोखरा, पाल्पा, तनहुँसम्मका स्थानमा विक्री हुने गरेको छ ।