राजनीति
आइतबार बसेकाे मन्त्रीपरिषद बैकठले चिनबाट सुरु भएको कोरोना भाइरस विश्वभर फैलिएर महामारीको रुप लिन थालेपछि सरकारले नेपाल भ्रमण वर्ष २०२० का सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ।
आइतवार बसेको मन्त्रिपरिषद् बैठकले जारी भ्रमण वर्ष २०२० का सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको स्रोतले जनाएको छ।
चीनको वुहानबाट सुरु भएको मान्छेबाट मान्छेमा तीव्र गतिमा सर्ने कोरोना भाइरस (कोभिड-१९) विश्वका ४५ भन्दा धेरै मुलुकमा फैलिएसँगै केपी शर्मा ओली नेतृत्वको सरकारले २० लाख पर्यटक ल्याउने गरी थालेको पर्यटन वर्ष २०२० स्थगित गरेको हो।
जनवरी १ का दिन एक भव्य समारोहबीच दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको भ्रमण वर्ष ठ्याक्कै २ महिनापछि स्थगित भएको हो।
कोरोना भाइरसको सम्भावित जोखिमसँग जुध्न सरकारले विशेष तयारी थाल्ने भएको छ। त्यसकै कारण सन् २०२२ मा आयोजना गर्ने गरी यो सालको भ्रमण वर्ष स्थगित गर्ने प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले नै गरेको स्रोतले जानकारी दिएको छ।
भ्रमण वर्ष स्थगित भएकोबारे औपचारिक जानकारी आगामी बिहीबार प्रवक्ता डा. युवराज खतिवडाले गराउनेछन्। त्यसैगरी भ्रमण वर्ष सचिवालयले पनि यसबारेमा जानकारी गराउनेछ।