राजनीति
लमजुङ – लमजुङ मध्य नेपाल नगरपालिकाले बाझो जमिनमा खेती पाती गर्नेलाई अनुदान दिने घोषणा गरेका छन। बाँझो जमिनमा तरकारी र फलफूल खेती गर्नेलाई प्रतिरोपनी ५ हजार रुपैयाँसम्म नगरपालिकाले अनुदान दिने भएको हो ।
नगरपालिकाका मेयर रमेशकुमार पाण्डेले जो कसैले पनि बाँझो जमिनमा खेती गरेमा प्रतिरोपनी ४ हजार रुपैयाँ र अरुको जग्गा भाडामा लिएर बाँझो जमिनमा खेती गरेमा ५ हजार अनुदान दिने निर्णय गरिएको बताए। बेरोजगार युवालाई स्वरोजगार बनाउँदै उत्पादन बढाउन अनुदानको कार्यक्रम ल्याएको बताउदै उनले यो कार्यक्रममा ४० वर्षमुनिका युवा सहभागी हुन पाउने बताएका छन।
खेती गर्नका लागि वडा कार्यालयमामार्फत निवेदन संकलन गर्ने र संकलित निवेदनलाई ‘युवा एवं महिला, कृषि तथा पशुपालन लक्षित कार्यक्रम कार्यान्वयन कार्याविधि २०७५’ अनुसार गठित समितिले सिफारिस गरेपछि अनुदान दिइने मेयर पाण्डेले बताए । नगरपालिकाले चालु आर्थिक वर्षमा स्वीकृत ‘नगरप्रमुख कृषि आधुनिकरण अनुदान कार्यक्रम’ शीर्षकमा छुट्याएको ५० लाख रुपैयाँ अहिलेको अवस्थामा खरिद प्रक्रिया पूरा गरी खरिद तथा वितरण गर्ने सम्भावना नभएकाले उक्त बजेटलाई बाँझो जमिनमा खेती गर्नेलाई अनुदान दिने प्रक्रिया अघि बढाएको उनले बताए ।