logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

भारतीय आलुको बिगबिगी, नेपाली आलुले मुल्य नपाउदा किसान चिन्तित


  • राजनीति
  • बुधबार, जेष्ठ २८ २०७७

पोखरा- आलुको उचित मूल्य पाउन नसक्दा सर्लाहीका किसान मारमा परेका छन् । बजारमा भारतीय आलु आयात गरिएपछि मूल्यमा आएको गिरावटका कारण स्थानीय किसान मारमा परेका हुन् ।

उचित मूल्य नपाएपछि सर्लाहीका किसानले उत्पादन गरेको आलु बिक्री हुन छाडेका छन् । भारतीय आलु नेपाली बजारमा भित्रिएपछि आफूहरु आलुको उचित मूल्य नपाएको हजरियाका किसान मुकेश महतोले बताए ।
‘भारतीय आलुका कारण यो वर्ष पनि लागत मूल्य उठाउन मुस्किल परेको छ,’ उनले भने, ‘उचित मूल्य नपाउँदा सडेर जाने खतरा छ । स्थानीय उत्पादित आलुको तुलनामा भारतीय आलु सस्तो छ । त्यसैले स्थानीय आलुले बजार पाउन सकेको छैन ।’

बजारमा अहिले रातो आलु प्रतिकिलोग्राम २८ रुपैयाँ र सेतो आलु प्रतिकिलोग्राम २४ रुपैयाँका दरले बिक्री भइरहेको छ । ३ वर्षदेखि लगातार घटेको आलुको मूल्य यो वर्ष पनि बढ्न नसकेपछि किसानले आलुखेतीको विकल्प खोज्न थालेका छन् ।

‘पहिले आलुखेतीबाट राम्रै फाइदा हुन्थ्यो, अब त लगानी उठाउन मुस्किल पर्न थालेको छ,’ अर्का किसान शिवजी महतोले भने, ‘गएको वर्ष पनि आलुखेतीबाट ६० हजार रुपैयाँ नोक्सान भयो, अब ऋण तिर्न नसकिने भयो ।’ ५ वर्ष पहिले प्रतिकिलोग्राम ३७ रुपैयाँमा बिक्री भएको आलु अहिले २५ देखि ३० रुपैयाँमा बेच्नुपरेको अर्का किसान रोहन महतोको गुनासो छ ।

जिल्लाको हजरिया, राजघाट, शंकरपुर, सुन्दरपुर र बरहथवा क्षेत्रमा सबैभन्दा बढी आलु उत्पादन हुने गरेको छ । बजार मूल्य राम्रो नभपछि जिल्लाका किसानले खेतबारीमै आलु थुप्रो लगाएर राखेका छन् । जिल्लामा शीतभण्डारणको व्यवस्था नहुँदा यहाँका किसान थप मारमा परेका छन् ।

जिल्लामा शीतभण्डारका लागि पटक पटक कुरा उठे पनि अहिलेसम्म कुनै काम नभएको स्थानीयले बताएका छन् ।

राम्रो माटो भएको जग्गामा प्रतिकट्ठा १० क्विन्टलसम्म आलु उत्पादन हुने गरेको किसानले बताएका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका बेलामा पनि भारतीय आलु आयात हुँदा आफूहरू अचम्मित भएको किसानको भनाइ छ । अहिले जिल्लाका अधिकांश बजारमा भारतीय आलु, प्याज तथा कागतीको बिगबिगी छ ।

खुला सिमानाको फाइदा उठाउँदै तरकारी व्यावसायीले परीक्षणबिना नै भारतीय तरकारी तथा फलफूल जिल्लाका विभिन्न बजारमा भित्रियाउने गरेका छन् । सरकारले विषादी परीक्षणका लागि प्रयोगशाला राखिए पनि व्यावहारिक रूपमा निकै कम मात्र परीक्षण गरिएर बजारमा भित्रिने गरेको स्थानीयवासी बताउँछन् ।

बजारमा उपलब्ध तरकारीमध्ये भारतबाट आयात हुने तरकारीमा विषादीको मात्रा बढी हुने गरेको विभिन्न अध्ययनले देखाएको छ । मानवीय स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने हुँदा परीक्षण गरेर मात्र भारतीय तरकारी तथा फलफूल नेपाली बजारमा भित्र्याउनेतर्फ सम्बन्धित निकायले गम्भीरता देखाउन सकेको देखिएको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार