logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

चितवनबाट लकडाउन अवधिमा लक्ष्यभन्दा बढी राजश्व उठ्यो


  • राजनीति
  • आइतबार, भाद्र ७ २०७७

चितवन- आन्तरिक राजश्व कार्यालय भरतपुरले चालु आर्थिक वर्षको शुरुआती समयमा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको छ। कार्यालयका अनुसार साउन महिनामा विभागले तोके भन्दा बढी राजश्व सङ्कलन भएको हो।

कोरोना कहरको समयमा समेत कार्यालयलाई लक्ष्य १ अर्ब ४६ करोड २२ लाख ३ हजार रुपैयाँ तोकिएकोमा शून्य दशमलब ९२ प्रतिशत बढी सङ्कलन गरेको हो। कार्यालयका प्रमुख शुब प्रसाद रिजालका अनुसार साउन महिनामा १ अर्ब ४७ करोड ५६ लाख ७५ हजार रुपैयाँ राजश्व उठेको छ। कार्यालयले साउन महिनामा सबैभन्दा बढी अन्तःशुल्क शीर्षकबाट राजश्व असुली गरेको छ। सबै भन्दा कम स्वास्थ्य सेवा करबाट उठेको छ।

अन्तःशुल्कबाट ९८ करोड २४ लाख ५० हजार र स्वास्थ्य सेवा करबाट ११ लाख २५ हजार राजश्व उठेको छ। कार्यालयले लक्ष्यभन्दा बढी आयकर र व्याजकर शीर्षकमा राजश्व असुल गर्न सफल भएको छ। व्याजकर मा २० करोड १७ लाख ९४ हजार रुपैयाँ राजश्व उठेको छ। यो महिनामा १३ करोड ३७ लाख ७३ हजार रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य लिइएको थियो। आयकरमा कार्यालयले २ करोड ८० लाख २४ हजार रुपैयाँ राजश्व असुली गरेको छ। सो महिनामा यसमा ७६ लाख ५२ हजार राजश्व असुली गर्ने लक्ष्य लिएको थियो।

यस्तै, मुल्य अभिवृद्धि कर अन्तर्गत २५ करोड ८३ लाख ९५ हजार र बहाल कर ३८ लाख ८७ हजार रुपैयाँ असुली भएको छ। विभागले कार्यालयलाई यस वर्षको १८ अर्ब ९० करोड रुपैयाँ लक्ष्य तोकेको छ।। कार्यालयमा अहिले ५० हजार करदाता रहेको कार्यालयले जनाएको छ। यस कार्यालयले साउनदेखि चितवन मात्रै हेर्दै आएको छ। चालु आर्थिक वर्षबाट सुस्ता पूर्व नवलपरासी कार्यालय स्थापना भएपछि जिल्ला मात्रै हेर्न थालेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार