राजनीति
अन्तरजातीय विवाह गरेपछि जुम्लामा केटी पक्षले केटा पक्षको घरमा आगजनी गरेका छन् ।
तातोपानी गाउँपालीका- ४ गिदिखोलास्थित भरत नेपालीको घरमा आइतबार आगजनी भएको हो । सो घरमा आगजनी गरेको आरोपमा प्रहरीले सोही ठाउका २२ वर्षीय हिक्मत गिरीलाई पक्राउ गरेको हो ।
हिक्मतलाई आइतबार राति नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । हिक्मतमाथि आगजनी कसुरमा अनुसन्धान भैरहेको छ ।
हिक्मतविरूद्ध आइतबार नै भरतले प्रहरीमा जाहेरी दिएका थिए। भरतले उक्त घर चार वर्षअघि बनाएका थिए। तर उनी जुम्ला बजारमा बस्छन्।
उक्त घरमा भरतका साइँला भाइ तिर्थ र मुकुन्द बस्थे। तिर्थ कामको सिलसिलामा शनिबार जुम्ला बजारमा गएका थिए।
घरमा आगजनी हुनुको कारण भरतका कान्छा भाइ मुकुन्दले गरेको अन्तरजातीय विवाह हो।
भरतका अनुसार २२ वर्षीय मुकुन्द नेपालगन्जमा अध्ययन गरिरहेका थिए। तर केही महिनादेखि उनी गाउँमै थिए। त्यसैबीच उनले हिक्मतकी अन्दाजी १४ वर्षीया बहिनीलाई असार ११ गते भगाएका थिए।
प्रहरीका अनुसार पक्राउ परेका हिक्मतले पनि विवाहकै कारणले आफुले आगजनी गरेको स्विकार गरेकाछन ।
अन्तरजातीय विवाह गरेका भनिएका भरतका भाई मुकुन्द र हिक्मतकि बहिनी सम्पर्क विहिन रहेकोले उनिहरुको खोजी कार्य हुनुको साथै घटनाको विषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।