logo शनिबार, साउन १६ २०८३ | Saturday 1st August 2026

शशांकको संयोजकत्वमा कांग्रेस इतर समूहद्वारा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन


  • राजनीति
  • शनिबार, साउन १६ २०८३

नेपाली कांग्रेसको संस्थापन इतर समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय ‘राष्ट्रिय भेला मूल आयोजक समिति’ गठन गरेको छ।

शनिबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत आगामी राष्ट्रिय भेलाको तयारीका लागि मूल आयोजक समिति तथा विभिन्न विषयगत समितिहरू गठन गरिएको जानकारी दिइएको हो।

समूहका नेता मीनबहादुर विश्वकर्माका अनुसार मूल आयोजक समितिमा पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित तथा मनोनीत केन्द्रीय पदाधिकारी र सदस्य, प्रदेश कार्यसमितिका सभापति तथा पदाधिकारी, जिल्ला सभापति, उपत्यकाभित्रका जिल्ला कार्यसमितिका पदाधिकारी तथा महानगर र नगर कार्यसमितिका सभापतिहरूलाई समेटिएको छ।

यस्तै, सङ्घीय तथा प्रदेश सांसद, पूर्वमन्त्री, पूर्वसांसद, भ्रातृ तथा शुभेच्छुक संस्थाका केन्द्रीय प्रमुखहरूलाई पनि पदेन सदस्यका रूपमा समितिमा राखिएको उनले बताए।

राष्ट्रिय भेलालाई नीतिगत र व्यवस्थापकीय रूपमा प्रभावकारी बनाउन मूल आयोजक समितिसहित १६ वटा समिति गठन गरिएको विश्वकर्माले जानकारी दिए। ती समितिमा राजनीतिक प्रस्ताव तयारी, सांगठनिक प्रस्ताव तयारी, विधान संशोधन मस्यौदा, आर्थिक नीति तयारी, प्रचार–प्रसार, आर्थिक व्यवस्थापन, आवास तथा भोजन व्यवस्थापन, मञ्च व्यवस्थापन, स्वयंसेवक परिचालन, सांस्कृतिक, सहभागी व्यवस्थापन, स्वास्थ्य, शान्ति सुरक्षा तथा प्रशासन समन्वय र सचिवालय व्यवस्थापनलगायत रहेका छन्।

पत्रकार सम्मेलनमा बोल्दै विश्वकर्माले ५५१ सदस्यीय समितिको पूर्ण नामावली तयार गर्न केही समय लाग्ने भएकाले हाललाई पदेन आधारमा सदस्यहरू समावेश गरिएको बताए।

उनका अनुसार मूल आयोजक समितिबाहेकका अन्य विषयगत समितिको संयोजक तथा सदस्यहरूको टुंगो आगामी केन्द्रीय कार्यसमितिको बैठकबाट लगाइनेछ। साथै, केन्द्रीय कार्यसमितिको बैठकले सबै १६ वटा समितिलाई औपचारिक रूपमा पूर्णता दिने उनले स्पष्ट पारे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार