राजनीति
लहान-गएराति सप्तरीको बोदे बर्साइन नगरपालिका–७, बगबिरा टोलमा भएको आगलागीमा ६ वटा घर जलेर नष्ट भएका छन् ।
राति १२ बजेतिर स्थानीयवासी गेनी दासको गाईगोठमा लामखुट्टे धपाउन बालिएको घुरबाट अचानक सल्किएको आगो तत्काल नियन्त्रणमा नआउँदा अन्य घरमा फैलिएको प्रहरीले बताएको छ । आगलागीबाट गेनी दासको दुई घर, छिमेकी कारी दासको दुई घर, देवेन्द्र दासको एक घर र जोगेन्द्र दासको किराना पसल जलेर नष्ट भएको छ ।
आगो निभाउने क्रममा गेनी दासकी ४१ वर्षीया श्रीमती देवकुमारी दास घाइते भएको
छ । उनको लहानस्थित सप्तऋषि नरसिंह होममा उपचार भइरहेको जानकारी दिए । आगलागीमा परी गेनी दासको गाई, भैँसी, बाख्रासमेत आठ वटा पशुचौपाया जलेर मरेका छन् भने घरमा रहेका अन्नपात, लत्ताकपडा, फर्निचरलगायत सम्पूर्ण समान जलेर नष्ट भएको छ । घटनाको खबर पाएपछि पुगेको प्रहरी र स्थानीयवासीको मद्दतले एक घण्टाको प्रयासपछि आगो नियन्त्रणमा लिइएको थियो ।