राजनीति
म्याग्दीका ग्रामीण क्षेत्रमा पानीको अभाव हुँदा स्थानीयवासीको दिनचर्या कष्टकर बनेको छ । जिल्लाको बेनी नगरपालिका–६ पिपलबोट, बेनपा–३ तोराखेत, रघुगङ्गा गाउँपालिकाका रायखोर, कुइनेलगायतका गाउँमा खानेपानीकोे सङ्कट देखिएको छ ।
खानेपानीको अभाव हुँदा पिउन, घरायसी कामकाज गर्न र वस्तुभाउलाई खुवाउन समस्या भएको स्थानीयवासीको गुनासो छ । पानीको अभाव हुँदा गृहिणी र विद्यार्थी बढी मर्कामा परेका छन् । एक गाग्री पानी भर्न बिहानभर कुर्नुपर्ने बाध्यता रहेको छ । यस्तै, पानीको जोहो गर्नुपर्दा विद्यार्थी समयमै विद्यालय जान पाएका छन् ।
२०७२ सालको भूकम्पले मुहान सुकेपछि पानीको समस्या भएको रायखोरकी हेमकुमारी गर्बुजाले बताउनुभयो । “धारामा पर्याप्त पानी नआउँदा पानीको जोहो गर्नै मुश्किल हुने गरेको छ”, उहाँले भन्नुभयो । आवश्यकताअनुसार पानी नहुँदा स्थानीयवासीको जीवनयापन कष्टकर बनेको बेनपा–६ का अर्जुन पौडेलले बताउनुभयो । गाउँका करीब २५ घर परिवार एउटा कुवाको भरमा बाँचिरहेका छन् । “पानीको समस्याका कारण व्यक्तिगत सरसफाइका लागि समस्या भएको छ”, पौडेलले भन्नुभयो ।
स्थानीय सरकार आएको २० महीना भइसक्दासमेत आफूहरूले विकासको अनुभूति गर्न नपाएको गुनासो स्थानीयवासीको छ । सङ्घीयताले करको बोझ थोपारेको, तर जनताको दैनिक आवश्यकता पूरा नगरेको स्थानीयवासी रमेश रेग्मीले बताउनुभयो ।
उता, रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले यस क्षेत्रमा खानेपानीको सुविधा पु¥याउन गाउँपालिकाले कोशिश गरिरहेको बताउनुभयो । स्थानीयस्तरमा खानेपानीको मूलको खोजी गरी छिट्टै समस्या समाधान गरिने उहाँको भनाइ छ ।