राजनीति
काठमाडौँ- निर्मलाकी आमाले डीएनए परीक्षणका लागि रगतको नमुना दिएपछि परिवारमा विवाद भएको छ । निर्मलाको शरीरबाट निकालिएको डीएनए वास्तविक भए नभएको पुष्टि गर्न निर्मलाकी आमाले रगत नमुना संकलन गरेपछि परिवारमा विवाद भएको हो ।
डीएनए परीक्षणका लागि रगतको नमुना संकलन गरिएको विषयमा असन्तुष्टि जनाउँदै श्रीमान र सौताले आफूमाथि दुर्व्यवहार गरेको दुर्गादेवी पन्तले बताए ।
परिवारको सल्लाहबिना रगतको नमुना प्रहरीलाई दिएको भन्दै निर्मलाका बुबा यज्ञराज र कान्छी आमा लक्ष्मी पन्तले असन्तुष्टि जनाउनु भएको हो ।
निर्मलाको ‘भेजाइनल स्वाब’मा भएको डीएनए वास्तविक भए नभएको पुष्टि गर्न पन्तले बुधबार महाकाली अञ्चल अस्पतालमा रगतको नमुना संकलन गरेर प्रहरीलाई दिएका थिए ।
रगतको नमुना संकलन गराएपछि आफूलाई श्रीमानले हातपात गरेको दुर्गादेवीले बताए । बिहान खाना पकाउँदै गर्दा श्रीमानले आफ्नो घाँटी अठ्याउँदै कुटपिट गरेको दुर्गादेवीले बताए ।
छोरीको हत्या भएको ६ महिना बितिसक्दा पनि न्याय नपाइएको बताउँदै आफूले राहत रकम बुझ्ने निर्णयसमेत गरेको उनले बताए ।