राजनीति
पोखरा – पोखरामा शुक्रवार २९७औं पृथ्वीजयन्ती एवं एकता दिवस भव्य रूपमा मनाइएको छ ।
मानव अधिकार चोक चिप्लेढुंगाबाट विभिन्न ११ वटा संघ-संस्थाले झाँकी सहित निकालेको र्यालीले पोखराको बजार परिक्रमा गरेको थियो।र्यालीमा क्षेत्री समाज, ब्राह्मण समाज, ठकुरी समाज, दशनामी समाज लगायत ११ वटा जातीय संघ-संगठन सहभागी थिए ।
पोखराको आकाश परिक्रमा गर्दै पृथ्वीनारायण शाहको तस्वीरअंकित हेलिकप्टरलेले पुष्पवृष्टि समेत गरेको थियो । र्याली पृथ्वीचोक पुगेर सभामा परिणत भयो ।
र्यालीका सहभागीले पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक पुनर्स्थापित गर्न माग गरे ।पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको शालिक तत्कालीन माओवादीले तोडफोडपछि सो ठाउँमा हाल लखन थापाको अर्धकदको शालिक राखिएको छ ।
पृथ्वीजयन्ती संयुक्त मूल समारोह समितिले सो ठाउँमा लखन थापाको शालिक हटाएर पृथ्वीनारायण शाहको शालिक राख्न माग गरेका छन् ।र्यालीका कारण पोखराको ट्राफिक व्यवस्था ३ घण्टासम्म अस्तव्यस्त भएको थियो । विगत वर्षमा भन्दा यसपालि पृथ्वीजयन्ती मनाउनेको संख्या बढी थियो।