logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

डिभोर्स – एक अध्याय !


  • सुनिता खनाल
  • शनिबार, पुष २८ २०७५

सुमित्रा, मेरो कलेजकी साथी । एक हप्ताअघिको एउटा धमिलो साँझमा उसले मलाई फोन गरी । फोनले म पुराना स्मृतिहरूबाट घेरिएँ । मानिससँग बाँच्ने भनेकै स्मृतिहरू हुन्, जसले वेलाकुवेला दंश गराउँछन् ।

आरआर कलेजमा सँगै पढ्थ्यौँ । मास्टरको थेसिसपछि उसको र मेरो भेट निकै पातलिएको थियो । बिए पढ्दा आफ्नै क्लासमा पढ्ने मोहनसँग प्रेमजस्तो कुनै सम्बन्धमा बेरिएकी थिई । त्यो सम्बन्ध यस्तो भइदियो कि उसको जिन्दगी नै फरक धारमा बहन थाल्यो ।

बाफलमा एउटै घरमा डेरा बस्दा उनीहरूको प्रेम फल्यो, फुल्यो । एक–अर्कालाई भेट्न कुनै दिवस वा शनिबार कुर्नु नपर्ने ! उनीहरूले एकदमै चाँडो प्रेमलाई विवाहमा परिणत गरे । त्यसवेलासम्म सुमित्रा राजनीति गर्थी, बिस्तारै छोडी । भावुक थिई, वेला–वेला कविता पनि लेख्थी । मोहनसँगको प्रेमले जीवनबाट राजनीति र कविता दुवै छुट्यो । प्रेमको मसिनो डोरो त बाँकी थियो नै ।

कसैसँग बसेर चिया पिई भने, कसैको फोन कल आयो भने मोहन अति शंका गथ्र्यो । सुमित्रामाथि शंका त ऊ बिहेअघि पनि गथ्र्यो । बिहेपछि शंकाको ग्राफ बढ्दै गयो । प्याच्चै भनिदिन्थ्यो, ‘को नाठोसँग बसिस् ?’ वा ‘कोसँग लाडिएको ?’ मोहनको यस्ता डायलगले निकै पिरोलिन्थी । त्याग्नु पनि प्रेम हो– एक साँझको यस्तो बोधपछि उसले ‘प्रिय लोग्ने’लाई मन नपर्ने सबै काम गर्न छाडिदिई । शंकाको औषधि के हुन्छ ? उसले फेला पारिनँ । ऊ चाहन्नथी– मोहनसँगको वैवाहिक जीवन धरापमा परोस् ।
०००
शंका, सम्बन्ध र काँचका चुरा उस्तै–उस्तै हुन्छन् । सम्बन्धको मसिनो डोरी कहाँनिर चुँडिन्छ ? अनेक सवालको भारी बोकी बबरमहलको बाटो हिँडिरहेकी छु । सडक त खाँदाखाँद छ । तर, म एक्लोे छु । भिड र भारले थिचिएको सडकले मलाई हेर्छ । म सडकतिर नजर हुत्याउँछु । कसैलाई राम्ररी देखिरहेकी छैन । अदालतमा देखिएको धमिलो दृश्यले मेरो मनमा विचारका घोडा उफ्रिरहेका छन् ।
०००
त्यो फोनवार्ताले तीन वर्षपछि हाम्रो त्यस दिनको भेट जुराइदिएको थियो । उसलाई पहिलेझैँ चम्किली र हँसिली देखिनँ । स्कुल छँदै राम्रा कविता लेख्ने सुमित्रा वास्तवमा कलेजमा पनि उत्तिकै अब्बल र निडर थिई । तर, त्यो कवि, त्यो निडर सुमित्राका आँखाबाट सम्पूर्ण रङ निख्रिएको थियो । पहिलेको उसको निडरताका चिह्न अनुहारबाट उडेर कतै गइसकेको थियो ।

सुमित्रा दाहाल ! एक समयकी निर्भीक सुमित्रा यही हो ? जसलाई म सामुन्ने देखिरहेकी छु ? ऊ त उही थिई । तर, आँखाबाट सपना झरिसकेका थिए । ऊ त उही थिई । तर, शरीरबाट सम्पूर्ण जाँगर बेपत्ता थिए । ऊ त जीवनका सम्पूर्ण इन्द्रधनुषी रङबाट भुइँमा झरेकी, एउटा प्रेमी गुमाएकी मैनाजस्ती देखिएकी थिई । रुँदारुँदा आँसु सिद्धिइसकेका जस्ता निर्जन थिए आँखा । मलाई देख्नासाथ बेस्सरी अँगालो हालेर रोई । सडकमा त भिड छ । तर, हामी भिडभित्र थिएनौँ । हामी मात्र ‘हामी’ भएका थियौँ । ऊ र म । ऊ बोलिरही । म सुनिरहेँ । उसको कथा कुनै पेन्टरले पोतेको एउटा उदास चित्रजस्तै थियो । कुनै गायकले गाएको उदास गीतजस्तै ।
०००
उसको (मोहनको) शंकालु बानीले आजित बनायो । ऊसँग बिहे नगर्ने सोचेकी थिएँ । तर, ब्ल्याकमेलिङ गर्न थाल्यो । भन्थ्यो– ‘म सुसाइड गर्छु । मेरो आत्महत्याको सम्पूर्ण दोष तँलाई लगाउँछु ।’ उसले मेरो चरित्रमै प्रश्न उठाएपछि आत्तिएँ । मैले प्रतिवादको शक्ति गुमाएँ । सायद, त्यस वेला पुरुष अहंलाई जिताइदिएँ । मैले गल्ती गरेँ । अन्ततः मैले हारेँ । ऊसँग जिन्दगीको सम्झौता गरेँ ।

परम्परागत संस्कारअनुसार बिहे भयो । प्रेममा त थियौँ । तर, अब त्यहाँ प्रेम बाँकी थिएन । त्यो सकिएर विवाह मात्रै बाँकी बचेको थियो । मामाले त सुनाउनुभएको थियो– लभ म्यारिज डिभोर्समा परिणत भएका थुप्रै कथा ।

कसैलाई सुनिनँ । बिहेको भोलिपल्टै सासूआमाले दाइजोको बखेडा झिकिन् । उनका गाली सुईको टुप्पाले घोचेको ‘चस्स’ भन्दा पनि कडा थिए । सासूको भद्दा गालीले साह्रै नमिठा घाउहरू दिएका छन्।

बिहेको पर्सिपल्टै ससुराले स्वयंवरको औँठी र मंगलसूत्र फिर्ता मागेका थिए । समाजमा सम्पत्तिपिपासु अझै रहेछन् भन्ने सम्झनाले पनि दुःख दिन्छ । सोच्थेँ– लोग्नेले त पक्कै माया गर्छ । उसको इज्जतका खातिर दुःखका हजार नदी तर्न तयार थिएँ । तर, उसको रक्तनलीमा पनि उही रगत बग्थ्यो । माइतीमा कसैलाई केही भनिनँ । सहनशीला भइदिएँ । सहनु अपराध रहेछ, आज बुझ्दै छु । आमा फोन गर्नुहुन्थ्यो । भन्थेँ, ‘मेरो घर स्वर्ग छ, देउता छन् परिवार ।’ फोनविच्छेद भएपछि बेस्सरी रुन्थेँ । म त आमाको मुहारमा सधैँ घाम फुलेको हेर्न चाहन्थेँ ।

एक महिना एक जुग बनिदियो । सासू–ससुराको जंगलबाट फुत्किएर मोहन र म काठमाडौं आयौँ । त्यसवेला तातो तावाबाट फुत्केको माछाजस्तै ठानेँ, आफूलाई । दाजुले बिदाइमा दिएको अलिकति पैसा थियो । त्यही पैसाले उसलाई मोटरसाइकल किनिदिएँ । ऊ मोबाइल पसलमा काम गर्न थाल्यो । म दिनैभरि घरमा, जेलजस्तो जीवन बिताउन थालेँ ।

एकजना अंकल पर्नेले सुनाउँथे– ऊ मोटरसाइकलमा फरक–फरक स्त्री राख्दै दौडिन्छ । सुन्धाराको ती अंकलकै होटेलमा उसले पटक–पटक फरक–फरक युवती लैजाँदो रहेछ । आँखाले नदेखी कसरी विश्वास गर्नु ! मसँग उप्रति चट्टानी विश्वास थियो । तर, म त अन्धो बनिरहेकी रहेछु । ऊसँगको मनको दूरी बिस्तारै बढ्दै थियो ।

ऊ बिस्तारै समयमा घर आउन छाड्यो । बेस्सरी रक्सी पिउन थाल्यो । मलाई जे–जे मन पर्दैनथ्यो, त्यही गर्न थाल्यो ।

विवाहको भएको एक वर्षमै उसमा देखेको भयानक परिवर्तनले म डराइसकेकी, आत्तिइसकेकी थिएँ । मेरो आँखामा डरको रङ भरिँदै थियो । र, उसलाई यसको हेक्का थियो सायद ।

म पुरानिएकी थिएँ, एकै वर्षमा । मेरो शरीर, मेरो मन उसलाई पुरानो लाग्न थालेको थियो । एक दिन ऊ कस्तोे पाशविक बनेको थियो भने उसको यौनशक्ति बढेर पशुतुल्य भएको थियो र त्यसमा हार खाएकी म निकै निरीह भएकी थिएँ । उसको पिटाइपछि एक हप्तासम्म घरबाट बाहिर निस्कन सकिनँ । ऊ नशामा लठ्ठ भएर पटक–पटक मेरो शरीर चिथोथ्र्यो ।

उसको मोबाइलमा एक रात अचानक बजेको एसएमएसले झसंग भएँ । लेखिएको थियो, ‘हाउ आर यु माई डार्लिङ ? आज हजुरले ल्याइदिएको घडी त पहिलेको भन्दा पनि महँगो रहेछ है ! अनि भोलि हस्पिटल जाऔँ है ! मिन्स रोकिएको धेरै दिन भयो ।’

रक्सीको नशामा लठ्ठ परेको मोहनले एसएमएसको हेक्का गरेन । ऊ कतिसम्म थियो भने बाथरुम जाँदा पनि मोबाइल बोकेरै जान्थ्यो । पहिलोपटक उसको मोबाइल छोएकी थिएँ र यस्तो देख्नुप-यो । त्यस रात मेरो शरीर पूरै काँप्यो । ऊबारे चलेका अनेक हल्ला सहेकै हुँ । बाइकमा केटी राखेर दौडिनु, होटेल पुगेर रमिता देखाउनुजस्ता उसका सुध्रिन नसक्ने बानी पनि सहेकै थिएँ । यहाँसम्म पनि सहनु ? म त उसकी स्वास्नी हुँ ।

अग्निसाक्षी राखी सिन्दुर हालेर ल्याएकी स्वास्नी ! यो के ? घरमा तरकारी किन्ने पैसा छैन भन्थ्यो, जो पायो उसलाई घडी किनिदन्छ । अनि हस्पिटल ? उफ् ! यो के सुन्नुप-यो ! हजार सिँढीबाट एकैपटक तल खसेको अनुभूतिले निकै दुखायो । अब उदाउने सूर्य मेरा लागि अँध्यारो हुनेछ भन्ने लाग्यो । एउटा जिम्मेवार पुरुष कसरी यत्ति खस्न सक्छ ? यो कस्तो लत ? स्वास्नी पुरुषको ओछ्यान तताइदिने मेसिन मात्रै हो ? आक्रोशले निकै हतप्रभ भएँ । ऊ त रक्सीको मातमै थियो । केही भन्नुको कुनै अर्थ रहेन ।

भोलिपल्ट फेरि उसको मोबाइल हेरेँ । मेसेज डिलिट गरिसकेको थियो । कल रजिस्टर हटिसकेको थियो । उसलाई थाहा थिएन– मैले त्यो नम्बर नोट गरिसकेकी थिएँ । फोनमा ‘निर्जला’को नाम सेभ थियो ।

निर्जला !!! पहिरोले पुरैझैँ भयो । ऊ त मेरै साथी पो ! अर्को मनले भन्यो– सायद अर्कै निर्जला होली ! को हो निर्जला ? के उसलाई थाहा थिएन, मोहन विवाहित पुरुष हो ! भोलिपल्ट मोहनलाई सोधेँ, ‘को हो निर्जला ?’ उसको अनुहारको रङ बदलियो । त्यो बदलाव म बुझ्न सक्थेँ । लाजमिश्रित बदलाव हो त्यो ।
ऊ बिस्तारै सहज भयो । भन्यो, ‘अहँ चिन्दिनँ म !’ फोन गर्दा निर्जला नामको फोन उठेन । आन्टीले फोन गर्दा त्यो नम्बरले भन्यो, ‘मोहन मेरो लोग्ने हो, कृपया मलाई कल गरेर डिस्टर्ब नगर्नुहोला ।’

कस्तो अचम्म ! स्वास्नी त म हुँ ! कसरी भन्न सक्छे– कोही स्त्रीले यस्तो कर्कश डायलग ! पागलझैँ भएँ । मस्तिष्कले उही रफ्तारमा काम गर्न छोडेको अनुभूतिले गाँज्दै ल्यायो ।

उसले झुट बोलिरह्यो । म दुःखी भइरहेँ । मैले पहिलोपटक साहसले बोलेँ । पहिलोपटक चेतावनी दिएँ, ‘यो नम्बर लिएर चौकी जान्छु ।’ बल्ल देखावटी नम्र भयो । उसले भनिरह्यो– माफ गर ! सोचेँ– भूल सुधार्न एउटा मौका दिनुपर्छ, मैले माफी दिएँ ।

तर, उसको लत न थियो, कहाँ छुटथ्यो ! ऊ झन् पतित, झन् भ्रष्ट हुँदै थियो । रात अबेर रक्सीले मात्तिएर ढुनमुनिँदै आउनु, मलाई जथाभावी गिजोल्न खोज्ने प्रयास गर्नु उसको सधैँको कर्म थियो । म निरन्तर प्रतिकार गर्थें । बिस्तारै ऊ अलग कोठामा सुत्न थाल्यो । प्रेमविना त मलाई पनि केही चाहिन्नथ्यो । प्रेमविना वासनाको रहरमा एउटै ओछ्यानमा लास बन्न मलाई पनि मन्जुर थिएन ।

ऊ कस्तो भयो भने मोटरसाइकल बेचेरै रक्सी पिउँथ्योे । मोबाइल पसलको काम छाड्यो । म आइएमईमा काम गर्न थालेँ । एक दिन सुटुक्क ऊ डेरा छोडेर तराई पुगेछ । मलाई कल गरेर भन्यो, ‘इन्डियाबाट एउटा राम्रो कामको अफर आएको छ, म त्यहीँ सेटल भएर तिमीलाई बोलाउँछु ।’ आधा पत्याएँ । आधा पत्याइनँ । त्यसपछि उसले लामो समय फोन गरेन ।

निकै पछि एक महिनाअघिदेखि उसले लगातार फोन गरिरह्यो । भन्न थाल्यो, ‘मलाई डिभोर्स देऊ ।’ उसमा कत्ति छिटै आएछ बदलाव ! हिजो बिहे नगरे मर्छु भन्थ्यो । उही आज भन्दै छ, ‘डिभोर्स नदिए मर्छु ।’ मान्छेका मर्ने कारण कत्ति छिटै बदलिँदा रहेछन् ।

अन्ततः उसलाई काठमाडौँ बोलाएँ । हिजो हामी वकिलकहाँ गयौँ । आज हामी विधिवत् रुपमै छुट्टिँदै छौँ । हाम्रो लोग्ने–स्वास्नीबीचको सम्बन्ध एउटा कागजको टुक्रामा लेखिएका केही अक्षरले समाप्त पारिदिनेछ । सम्बन्ध सकिएको साक्षीका रुपमा तिमीलाई बोलाएँ ।
०००
हामी दुवै रोइरहेका रहेछौँ । उसको आँसुको धर्कोले घाँटी हुँदै भुँइ भिजाएछ । डिभोर्स हुँदै गरेको खबर घरमा कसैलाई रहेनछ ।

११ बजे मोहन आयो, निकै ठाँट्टिएर । उसको आँखामा कतै पश्चात्तापको धर्सो देखिएन । सुमित्राका आँखा भने रसाइरहेकै थिए । अदालतमा डिभोर्स गर्नेको लाइन देखेर म आत्तिएँ । लाग्यो, यो लोकसेवा आयोगको जागिरका लागि फर्म भर्ने लाइन हो । डिभोर्सको लाइनमा २० देखि २५ उमेरका धेरै देखिन्थे । विशेष हैरानीले छोप्यो । सुमित्रालाई भनेँ, ‘एकपटक सोच ।’

अदालत सुमित्राका लागि अन्तिम गन्तव्य बनेको थियो । ऊ मेरो आग्रह मान्ने मनस्थितिमा थिइनँ । मैले साक्षीको भूमिका निभाएँ ।

डिभोर्सपछि जुलुसमा सहभागी कुनै योद्धाझैँ विजित मुद्रामा ऊ भट्टीतिर पस्यो । सुमित्रा आँसु झार्दै कोठातिर पसी । सोचेकी थिएँ– सुमित्राको जिन्दगीको जाँतो अब एउटै स्पिडमा बग्नेछ । र, कथा यहीँ टुंगिनेछ । तर, कथाको अन्त्य यत्ति सजिलै हुन्न रहेछ ।
०००
आज आइतबार । उनीहरूको सम्बन्धमा पूर्णविराम लागेको ठ्याक्कै एक हप्ता भयो । सुमित्राको अनुहार पटक–पटक मेरो आँखामा नाच्न आइपुग्थ्यो । वेलावेला रिस उठ्थ्यो– मोहनको ज्यादती र उसकोे प्रतिवादशून्य अवस्था सम्झेर ।

निर्जला कलेजकै साथी हो । उसले अचानक फोन गरी । भनी, ‘मेरो आज अदालतमा बिहे हुँदै छ । तिमी आइदेऊ न !’ फेरि कसैको बिहेमा साक्षी बस्नुपर्ने भयो ।

११ बजे अदालत पुगेँ । निर्जला खुब सजिएर आएकी थिई । कस्ति राम्री भएकी ! ‘खोइ त दुलाहा राजा ?’ अचानक मेरो प्रश्न फुत्क्यो ।
‘आउँदै छन्, उः पछाडि हेर न,’ उसले भनी ।
फर्केर हेर्दा मैले जे देखेँ, त्यो पत्याउन नसकिने दृश्य थियो । सुमित्राले मसँगको एकालापमा सही अनुमान गरेकी थिई । उही मोहन ठाँटिएर एक सातापछि फेरि अदालत आइपुगेको थियो । कत्रो धोका छि…! अदालतबाट निस्कँदै गर्दा मेरो दिमाग गलिरहेको छ । मन गलिरहेको छ । सिंगै म गलिरहेकी छु । बबरमहलको भिडमा विचारशून्य म कतै पुग्न हतारिएकी छु ।

जुन दिन ऊ डिभोर्स भएर कोठातिर लागी, त्यही दिनदेखि म निरन्तर उसको सम्पर्कमा छु । हावाले आफ्नो बहने दिशा परिवर्तन गर्ला । तर, मैले उसको साथ छोड्ने आँट गर्न सकिनँ । ऊ जोसँग खुलेर बोल्न सक्छे । जोसँग दुःख बाँड्न सक्छे । खुसी साट्न सक्छे । त्यो नितान्त मै हुँ । वैवाहिक सम्बन्धमा पूर्णविराम लागेको महिनौँसम्म ऊ रोइरही । आफैँ हुर्केको आँगन फर्कन सकिन । त्यही त हो समाज । जो खुट्टामा बिझेको खिलजस्तो छ ।

एउटा घर गरेर खान नसकेको आरोप ऊमाथि परिरह्यो । जुन ऊप्रतिको अपमान थियो । कैयौँपटक त आत्महत्यालाई अँगाल्न खोजी । आफ्नै रफ्तारमा कुदिरहेको गाडीबीच हुत्तिई । रोक्ने मै थिएँ । रोकेँ । एक झापड लगाएँ । उसो त उसको मनमा नै थियो घाउ । मैले हानेको बाहिरी झापडको खास असर नहुन सक्थ्यो । जे होस्, मैले उसको मृत्यु बचाएँ । उसको पागलपनमा साथ दिइनँ । नत्र ऊ यो संसारबाट बिदा भइसकेकी हुन्थी । कि अपांग भएर दयाको पात्र बन्न सक्थी ।

ऊ बिस्तारै सम्हालिन थाली । छुटेका तमाम कामका शेषहरूमा आगो जोरी । फेरि जागिरमा फर्किई । मलाई वेलावेला फोनमा आफ्ना कुरा सुनाउँथी ऊ । धेरै कुरा त उसको फेसबुक वाल हेरेरै बुझ्थेँ म । मान्छेले गलत सोचेको कुरा नै कतिवेला सही बनिदिन्छ । र, नराम्रो बुझेको कुरा नै कतै राम्रो पनि बनिदिन्छ । यी सबै समयले मान्छेमाथि गर्ने राजनीति रहेछ । घात जीवनकै सुन्दर परीक्षा रहेछ । पीडा परिस्थितिसँग जुध्ने आँट रहेछ । उसले यतिवेला जस्तो जीवन बिताइरहेकी छे । डाहले धेरैको ध्यान त्यतै खिचिदिन्छ । भित्र के छ ? कस्तो छ ? देखिएको यथार्थभन्दा फरक भोगिएको यथार्थ छ भने त्यो ऊ नै जान्दछे ।

ऊ व्यस्त छे । हामी वेलावेला भेट्छौँ । कफीसपमा जान्छौँ । कफी पिउँछौँ । सानदार गफ गर्छौँ । र छुट्टिन्छाैँ । उसो त उसको डेरा मेरोबाट निकै टाढा पर्छ । तर, मनको दूरी नजिक भएपछि केही परको नहुँदो रहेछ । उसको डेरामा गइरहन्छु म । ऊ विगततिर कहिल्यै फर्किन्न । उसले हिजो बिर्सिई । आज बाँच्दै छे । दुःखपछि सुख आउँछ भन्थे । उसले त्यो सुख लोग्ने गुमाएपछि पाई । केही पाउन केही गुमाउनुपर्ने । तर, उसलाई कहीँ कतै पछुतो छैन । ऊ निकै अगाडि बढिसकी । गए रात मलाई उसको फोन आयो । भनी, ‘तिमी मेरो रुममा बस्ने गरी आऊ आज राति । तिमीसँग बहुत कुरा गर्न‘ छ । मलाई आज बिन्दास हुनु छ ।’ म गएँ । ‘जे–जे खान मन छ, सबै भन है । म बनाउँछु ।’ यस्तै भनी । खाना बनायौँ । खानाको आइटम धेरै नै बनाएछौँ । खायौँ । त्यसपछि सुमित्रा बोलिरही । म सुनिरहेँ…।
०००
जब दुई वर्षपहिले जिल्ला अदालतबाट फर्केँ । म पूरै टुटेको थिएँ । आँट र साहस सबै समयले चिथोरिसकेको थियो । कोठामा आएँ । निकै रोएँ । धेरैपटक आफैँलाई खत्तम गरूँ सोचेँ । कसैलाई कल गरिनँ । आमालाई पनि गरिनँ । अरूलाई त झन् गर्ने कुरै भएन । के गरूँ र कसो गरूँले मन भारी बनायो । खाना पकाइनँ । खाइनँ । भित्ताभरि बिहेका फोटा थिए । एक टकले हेरिरहेँ । विगतलाई सुम्सुम्याएँ । आफ्नै टाउको टेबलमा ठोक्याएँ । संसार सकिएको आभासले मुटु रेटियो ।

समय बित्दै गयो । बिस्तारै म कोठाबाट निस्कन थालेँ । भरी सडकले मलाई नै हेरिरहेजस्तो लाग्यो । मानौँ मेरो जीवनबारे सब जानकार छन् । पहिले लेखिएको डायरी त मोहनले खरानी बनायो । खरानीको डोरी बाट्न सकिनँ । अक्षरका कच्चा पाना केही भेट्टाएँ । भलै अक्षर कच्चा थिए । मेरो हृदययको रङ काँचो थिएन । फेरि लेखेँ । केही थपेँ । केही हटाएँ । अक्षरलाई आफ्नै पीडाले स्पर्श गराइनँ । बडो सजग भएँ । किनकि मलाई मरिसकेको विगत ब्युँझाउन मञ्जुर थिएन ।

घाउ पुरिँदै गएपछि मन बलियो हुँदै गयो । त्यसै–त्यसै एक महिना समय पछाडि छुट्टी गयो । उसको नाम लेखिएको सिन्दुर र पोतेलाई एउटै पोको बनाएँ । पशुपति गएँ । पोको फुकाएँ र आर्यघाटमा बगाएँ । सोचेँ, अरू कसैको सिउँदोमा परेको भए भाग्यमानी हुन्थ्यो होला त्यो सिन्दुर । कसैको गलामा परेको भए सुहाग बन्थ्यो होला त्यो पोते । तर, मेरो सिउँदोमा खस्यो । मेरै गलामा बाँधियो । आर्यघाटमा तैरिरहेको सिन्दुर र पोतेलाई हेरेर अन्तिमपटक म बेस्सरी रोएँ । त्योभन्दा पछाडि मलाई उसको नाममा रुनु थिएन । मेरो त्यो हर्कतले मलाई शान्ति दियो ।

मर्न त ऊ मरेको होइन । हाम्रो सहयात्रा मरेको हो । सहसपना मरेको हो । मैले त्यसैलाई बगाएँ । घर फर्किएँ । झम्के साँझ परेको थियो । उसका सारा कपडा पोको पारेँ । सारा फोटो टुक्य्राएँ । डेराको घरअगाडि चउर थियो । त्यसकै एउटा कुनामा पोकापन्तरा राखेँ । आँखा चिम्म गरेँ र सलाई कोरेँ । कोरेको काँटी त्यही पोकोमा हुत्याएँ । एकैछिनमा सारा यादहरू बल्न थाले । र, सँगै बल्यो, मनभित्रको उसको कुरूप चेहरा । रिसले आफैँ राँकोझैँ भएँ । त्यही राँकोमा बलूँ जस्तो पनि लाग्यो । तर, मै सकिएपछि मभित्रको म कसरी बाँच्ला र ? यही सोचेर आफूलाई रोकेँ ।

लाञ्छना सहेरै बचाएको जागिर थियो नै । अब त्यसले मेरो रहर धान्दैन । सपना बचाउँदैन । एक मुठी सासको पनि क्रय–विक्रय हुने यो सहरमा बाँच्नु चुनौती थियो । म बाँचेर मात्र पुग्थेन । मसँग जोडिएको हरकुरा बचाउनु थियो । प्राणको अन्तिम भिख मागिरहेका मेरा सपना बचाउनु थियो । लक्ष्य बचाउनु थियो । जागिरका निम्ति खोलिएका कैयौँ विज्ञापनमा मैले आवेदन दिएँ । भाग्यवश एउटा राम्रो एनजिओले मलाई काम दियो । अर्थात् मलाई विश्वास ग-यो । फिल्डमा हिँड्न थालेँ ।

विश्वासमा खरो उत्रनु थियो मैले । कतै पछाडि निदाएका कविता र कथाहरूलाई ब्युँझाउनु पनि थियो । अब म कसैको शंकाको घेरामा थिइनँ । आरोप लगाउनेवाला कोही थिएन । पिँजडाबाट उडेको चरीजस्तै ठानेँ आफूलाई । राष्ट्रिय दैनिकमा लेख लेखेर पठाउन थालेँ । छापिन थाल्यो । राम्रो प्रतिक्रिया पाएँ । धेरैको आँखामा देखिन थालेँ । मनमा बस्न पुगेँ । साथीसर्कल बढ्दै गयो । जसबाट हौसला मिल्यो । प्रेरणा मिल्यो । त्यसपछि कलमको रफ्तार बढाएँ । त्यहाँदेखि टेलिभिजनसम्म मेरो पहुँच पुग्यो । पैसा पहिलो सर्त थियो । कमाएँ । सँगै कमाएँ, धेरथोर नाम पनि ।

डिभोर्सको वर्ष दिनपछि म गाउँ फर्किएँ । गाउँले सोध्ने हर कठिन सवालको जवाफ दिन अब म तयार थिएँ । एक सालअघि घर गरेर खान नसकेको आरोप लगाउने छिमेकी र आफन्त । अब मेरै बखानमा थिए । सबैले ताप्ने भनेको बलेकै आगो त रहेछ । यतिवेला सायद म बल्दै थिएँ । कार्यक्रमहरूमा जान थालेँ  प्रतियोगिताहरूमा गएँ । स्कुले जीवनमा जस्तै कहिल्यै म खाली हात फर्किनँ । हेर न यी भित्ताहरू सम्मानित भएर गमक्क परेझैँ देखिन्छन् । वरदेखि परसम्मका सल्लाह र आफ्नै रहरपछि अन्ततः एउटा कृति निकालेँ । अन्य भूगोलसम्म मलाई तार्ने पुल त्यही कृति बन्यो । म इज्जतकै लागि भनेर उसैसँग बसेको भए ? आज यी दिन छुटिजान्थे । सुमित्रा दाहाल कोसौँ टाढा छुटिजान्थी ।

समयले मलाई उमेरभन्दा निकै अगाडि पाको बनायो । हर दुःखसँग एक्लै लड्न सक्ने बनायो । हिजो आत्महत्या गर्न आतुर म । आज लामो आयु बाँचूँ लाग्छ । केही गरेरै मरूँ लाग्छ । साथमा आमा हुनुहुन्छ । राम्रो कम्पनीमा जागिर छ । धेरथोर बैँक ब्यालेन्स छ । आफ्नै पसिनाले किनेको थोरै जग्गा पनि छ । कुनै पनि अभावले अब त्यति सजिलै मेरो ढोका ढकढक्याउँदैन । पानी परेर फाटेको आकाश जस्तै छङ्ग छ, मेरो दुनियाँ । साँच्चै आज म, बिल्कुल नयाँ सुमित्रा दाहाल भएकी छु ।

मलाइ दोस्रो विवाह गर्न मन छैन । वेलावेला आमा रुनुहुन्छ । आमाको आँसुले मेरो मुटु भक्कानिन्छ । म कमजोर बन्छु । विवाह सन्तान उत्पादनकै निम्ति गर्ने हो भन्ने बुझेकी मेरी आमालाई मेरो उमेरको पिर छ । मेरो एक्लोपनले उनलाई डस्छ । हुन पनि मेरो पीडामा दुख्ने मान्छे उनै त हुन् । आमाकै खुसीका निम्ति फेरि बिहे त गरुँला । आफ्नै हातले बनाएको जिन्दगी फेरि अँगार भयो भने ? बेस्सरी डराउँछु म । हजार कुसवालले क्षणभरमै मेरो सुखको महल भत्काइदिन्छन् । सोच्न नसक्ने गरी मस्तिष्कलाई घाइते बनाइदिन्छन् ।

मन मिल्ने साथीको चाह मेरो मनले पनि त गर्छ । तर, लोग्ने होइन । लोग्ने त ममाथि हाबी भइदिन्छ । मलाई अब ममाथि कोही हाबी भएको मञ्जुर छैन । आजभोलि प्रेम प्रस्ताव धेरैको आउँछ । जो राम्रो पद र ओहदामा छन् । पद र ओहदाले मनको गहिराइ नाप्ने होइन । राम्रो मान्छे भनेर स्विकार्दा फेरि कुमान्छे प¥यो भने ? यस्तै सोचले प्रस्ताव स्विकार्न सक्दिनँ म । मेरा सामु दुर्घटित विगत छ । जस्तो नै अग्रगामी सोच होस्, यो समाज डिभोर्सी केटीलाई हृदयले अँगाल्न डराउँछ । बेहुली बनाएर घरमा भित्र्याउने आँट गर्न सक्दैन । विगतकै कारण म विचरा हुन सक्दिनँ । अपमानको पात्र बन्न चाहन्नँ । आज मेरो नाम, रूप र यौवन ताकेर नजिक हुनेले भोलि मलाई दोस्रो दर्जाको ठानिदियो भने ? अब म टुट्न सक्दिनँ ।

वेला–कुवेला जीवनको एक्लोपनले बेस्सरी गाँजेर जान्छ । साथीसर्कल छन् । आफन्त सबै मेरै फेवरमा छन् । तर, कुनैवेला कोही छैन जस्तो लाग्छ । मनले कसलाई खोजेको हो ? वा के खोजेको हो ? त्यो मलाई थाहा छैन । आफन्तहरू वरको खोजीमा छन् । डिभोर्सी वा विधुर मेरा लागि योग्य ठान्छन् । त्यस्तै कुरा लिएर आउँछन् । जो मलाई मन पराउँछु भन्छन् । विवाहको प्रस्ताव राख्छन् । तिनीहरू अविवाहित हुन् । अब म कसलाई रोजूँ ? विवाहित वा अविवाहित ? बडो दोधारमा पर्छु म । मलाई विगत दोहो-याउनु छैन । धन मेरो रोजाइमा कहिल्यै परेन । पर्दैन । अरूले दिएको एक हजारभन्दा आफैँले कमाएको एक रुपैयाँ ठूलो लाग्छ मलाई । त्यसमै खुसी हुन्छु म ।

हिजो डिभोर्स हुँदा पनि त मोहनको सम्पत्ति लिन सक्थेँ । आखिर डिभोर्स उसको रोजाइ थियो । सम्पत्ति दिने कर उसलाई लाग्थ्यो । तर, मलाई उसको केही लिनु थिएन । जो मान्छे नै काम लागेन भने उसको सम्पत्ति लिनुको तुक देखिनँ । ऊसँग मेरो कुनै सन्तान थिएन । थियो भने आमाको कर्तव्य निभाउँदा–निभाउँदै मैले आफ्नो करिअर सक्थेँ हुँला । त्यो अर्कै पाटो भयो । नभएको सन्तानको के कुरा गर्न‘ मैले ? अब मैले मेरो नामलाई नभत्काई जिउनु छ । केही पाउनकै निम्ति केही गुमाउन कतै मञ्जुर छैन मलाई । गुम्नु र गुमाउनु जहिले मेरै भागमा हुन्छ भन्ने पनि त छैन । मैले अहिलेसम्म गरेको आत्मसंघर्षको एउटा साक्षी हौ तिमी । बलियो साथी पनि त तिमी नै हौ । तिमीलाई नसुनाए कसलाई सुनाउनु मैले ?

०००
यति भनिसक्दा ऊ निकै चम्किरहेकी थिई । आँट र आत्मबल बडो गज्जबको लाग्थ्यो । उसलाई पिट्नु पिट्यो समयले । पीडाले । आफ्नै भाग्यले । र, गयो सुमित्रा दाहाल बनाएर । फलामलाई जति पिट्यो त्यति आकार दिन्छ । ऊमाथिको पिटाइ अन्ततः सुखद भइदियो । उसले विगत बिर्सिई । अब उसले मोहनलाई पूरै भुलिसकी । नभुल्नु पनि किन ? जसले उसलाई पीडाबाहेक केही थमाएन । दुःखबाहेक केही साटेन । मर्नु र बाँच्नुको दोसाँधमा परोस् सोच्यो र बीच बाटोमा नै हात छाडिदियो । डिग्री सकेर गर्भिणी बन्ने सोचमा थिई ऊ । तर, उसको त्यो सपना मोहनसँग तुहियो । आमा बन्ने सपना त उसको जिउँदै छ अझै ।

ऊ लैंगिक रूपमा छोरी हो । तर छोरै भनेर मरिमेट्नेहरूको मुख बन्द गराउन सफल भई । जीवनको पहिलो भगवान् आमा । जसको साथ उसैले पाई । भाइको जिम्मेवारी उठाई । बाको अभाव त परिवारमै थियो । त्यो अभाव कम गराउन लागिपरी । केही हद सफल पनि भई । यतिवेला उसको जीवनले धेरैलाई लोभ्याउँछ । धेरैको प्रेरणाको पात्र बन्न सकी । कसैको आँखामा आँसु भरिए आफूलाई हेर्न आग्रह गर्छे ऊ । कसैलाई ठेस लागे आफ्नै साहसलाई टेकेर उठ्नु भन्छे । जून पाठ सिकाउने विगत ऊबाट निकै पछाडि छुटिसक्यो ।

उसले जीवनभर नपाएको महत्वपूर्ण कुरा हो, ‘प्रेम’ । प्रेमीले दिने प्रेम । लोग्नेले दिने प्रेम । निःस्वार्थ प्रेम । अब उसलाई जातसँग सरोकार छैन । भाषासँग सरोकार छैन । उमेर, वर्ण र धन केहीसँग सरोकार छैन । बस्, आत्मिक प्रेमको झिनो चाह छ, उसलाई । विवाह उसको रोजाइ बन्दैन अब । जसबारे हजारपटक सोच्ने छे उसले । उमेरभन्दा निकै पाकी भई सुमित्रा । अब उसको आँखाले आँसु बिर्सिएको छ । हाँस्न बिर्सेकी उसले दिल खोलेर हाँस्न थालेकी छे । म उसको नजिकको साथी । उसको घर बसेको हेर्ने रहर छ मलाई । आमा बन्ने उसको पुरानो रहर फेरि नयाँ बनोस् । आफूभन्दा धेरै बुझ्ने मान्छेले सहयात्राको प्रस्ताव राखोस् ऊसँग । फेरि उसले हाँसोको निम्ति कहिल्यै आँसु बगाउनु नपरोस् ।

 

 

नयाँ पत्रीका बाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार