राजनीति
नुवाकोट र धादिङमा आज माघे संक्रान्तिको अवसरमा ६५ हल गोरु जुधाइँदै छ। नुवाकोटको बेत्रावती र तारुकामा परापूर्वकालदेखि माघे सङ्क्रान्ति पर्वका अवसरमा गोरु जुधाउने पर्व मनाइन्छ।
रसुवा–नुवाकोट पर्यटन समाजले यस वर्ष नुवाकोटको बेत्रावती, तारुका र घले गाउँमा ४७ र धादिङको नीलकण्ठ नगरपालिकास्थित धुवाकोटमा १८ हल गोरु जुधाउनको लागि दर्ता भएका जनाएको छ।
तारुकामा गोरु जुधाउने परम्पराको थालनी कहिले भएको आधिकारिक तिथिमिति कतै नभेटिए पनि स्थानीय बूढापाकाका अनुसार यो करीब दुई सय वर्ष पुरानो पर्व हो।
तारुकामा पछिल्लो १२ वर्षदेखि मेला व्यवस्थापन गरी एकै स्थानमा गोरु जुधाइँदै आएको छ । मेलामा हरेक वर्ष नुवाकोट, रसुवा, काठमाडौँ, धादिङका गरी हजारौंको सङ्ख्यामा दर्शकको सहभागिता हुने गरेका छन्।
प्रतियोगितामा पहिलो हुने गोरुधनीलाई १५ हजार, दोस्रो हुनेलाई १० हजार र सान्त्वना स्वरुप ५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ।