राजनीति
नुवाकोट- नुवाकोटमा आफ्नै छोरी बेचेको अभियोगमा बाबुसहित तीन जना पक्राउ परेका छन । बुबाले नै भारतमा बेचेको आरोपमा दुप्चेश्वर गाउँपालिका वडा नम्बर ६ समुद्रटारकी १५ वर्षीया बालिकालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा बाबुसहित सोही गाउँपालिका, ६ का २२ वर्षिय सुनील तामाङ र ३१ वर्षीय लक्ष्मी नेपाली रहेका छन् । उनीहरुलाई सोमबार पक्राउ गरी मुद्दा चलाएको प्रहरी उपरीक्षक (एसपी) कृष्णबहादुर पल्लीमगरले जानकारी दिनुभयो ।
गत पुस २२ गते आरोपितले भारतमा लगेर वेश्या काममा लगाउने उद्देश्यले बालिकालाई काठमाडौं हुँदै भारतको दिल्ली पुर्याएको प्रहरीले जनाएको छ । दिल्लीबाट उद्धार गरी पीडित बालिकालाई नेपाल ल्याएपछि उनको उजुरीका आधारमा आरोपितलाई पक्राउ गरिएको एसपी मगरले जानकारी दिए । प्रहरीले उनीहरुलाई थुनामा राखेर अनुसन्धान सुरु गरेको जनाएको छ ।
सीमानाकाबाट ३६१ महिलाको उद्धार
यसैबीच तीन वर्षको अवधिमा मानव बेचबिखन तथा लैङ्गिक हिंसाविरुद्ध कार्य गर्दै आएको केआइ नेपाल कपिलवस्तुले सीमानाका कृष्णनगरबाट ३६१ महिलाको उद्धार गरेको छ । सो संस्थाले तीन वर्षको प्रतिवेदन सार्वजनिक गर्दै उक्त अवधिमा १२ हजार ४६७ जनासँग सीमानाकामा परामर्श गरिएको जनाएको छ ।सो संस्थाका जिल्ला संयोजक केशर विश्वकर्माले दुई सय २६ महिलालाई आपतकालीन सुरक्षित आवास सेवा प्रदान गरिएको जानकारी दिनुभयो । “तीस महिलालाई उद्धारपश्चात चितवनस्थित सुरक्षित आवासगृहमा राखिएको छ,” उहाँले भन्नुभयो ।
इलाका प्रहरी कार्यालय कृष्णनगरमा दर्ता भएका नौ मानव बेचबिखन तथा ओसारपसारसँग सम्बन्धित मुद्दामा १४ प्रभावितले ११ विचौलियाविरुद्ध किटानी जाहेरी दिएका थिए । जिल्ला अदालत कपिलवस्तुले सात मानव बेचबिखन तथा ओसारपसारसँग सम्बन्धित मुद्दामा अभियुक्तलाई जेल सजायको फैसला सुनाएको थियो ।
केआइ नेपाल शाखा कार्यालय कपिलवस्तुका अनुसार तीन वर्षको अवधिमा १५ देखि २५ वर्ष उमेर समूहका महिला बेचबिखनको उच्च जोखिममा रहेको पाइएको छ । आर्थिक अभाव, अशिक्षा, बेरोजगारी, प्रविधिको दुरुपयोगलगायत कारण महिला बेचबिखनको जोखिममा पर्ने गरेका छन् ।