राजनीति
मनाङ बुधबार साँझ ६ बजेबाट वर्षासँगै हिमपात भएकोछ । हिमपातका कारण सडक अवरुद्ध हुँदा खाद्यान्न, तरकारीलगायतका अत्यावाश्यक सामान ल्याउन समस्या भएको छ ।
दानाक्युसम्म सडक खुलेको भए पनि जिल्लाको अरु ठाउँमा सडक अवरुद्ध भएको छ । चिसोका कारण जनजीवन प्रभावित बनेको छ ।
बागमतीलाई मौलिक अवस्थामा फर्काउने प्रयास
सफाइ गरी पहिलेकै मौलिक अवस्थामा बागमतीलाई फर्काउन विभिन्न उपायहरू आउने गरेका छन् । यस्तै उपायमध्ये बागमतीको विभिन्न ठाउँमा फलामको जाली राखेर नदीमा बग्ने ठोस फोहोरलाई सहज रूपमा सङ्कलन गर्ने विधि प्रभावकारी हुनसक्ने उपाय सुझाइएको छ ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका उपआयोजना प्रमुख योगेन्द्र चित्रकारले बागमती नदीसहित यसका सहायक खोलाहरूमा फलामको जाली जडान गरी पहिलेको भन्दा सहज रूपमा बागमती सफाइ गर्न सकिने बताउनुभएको छ । बगेर जाने ठोस फोहोरलाई जाली मार्फत रोकी सहज रूपमा ती फोहोरको सङ्कलन तथा व्यवस्थापन गर्न सकिने उहाँको सुझाव छ ।
यसअघि २०७३ सालमा बाग्मती र टुकुचाको दोभानमा ठोस फोहोर सङ्कलनका लागि तार जाली राखिएकोमा ठोस फोहोर जम्मा हुन गई टुकुचा खोला नै अवरोध भएको तथा पुनः पहिलेकै अवस्थामा फर्काउन दुई महिना लागेको स्मरण पनि उहाँले सुनाउनुभयो । त्यसैगरी, काठमाडौँको नदी र खोलामा यहाँको उद्योगका रसायनिक पदार्थ बग्ने भएको हुनाले फलामको जाली चाँडै नै खिइने गरेको उहाँले बताउनुभयो ।
पूर्वसचिव तथा बागमती सफाइ अभियन्ता किशोर थापाले नदीमा तारजाली राखेर अस्थायी रुपमा ठोस फोहोर सङ्कलन गर्न सकिए पनि दीर्घकालीन रूपमा यो तरिका उपयुक्त हुन नसक्ने बताउनुभयो ।
वातावरणीय दृष्टिकोणले समेत नदी सफाइको यो तरीका उपयुक्त हुन नसक्ने बताउँदै उहाँले नदी तथा खोलामा रहने जलचरको संरक्षणमा हानी पु¥याउनुका साथै पानीको बहावमा अवरोध तथा नदीको सम्पूर्ण दृश्यलाई नै बिगार्न सक्ने बताउनुभयो । नदी र खोलाको सफाइका लागि फोहोरको स्रोतलाई सुधार गर्नुपर्ने सुझाव समेत उहाँले दिनुभयो ।
बाग्मती सफाइ अभियन्ता राजु अधिकारीले तारजाली राखेर बाग्मती नदीलगायत यसका सहायक खोलाहरूको सफाइ गर्न सकिएको बताउँदै यसका लागि सरकारसमक्ष माग राखी सकिएको जानकारी दिनुभयो ।
निश्चित ठाउँमा राखिएको तारजालीमा ठोस फोहोर जम्मा भई त्यसको सङ्कलनका लागि नदी र खोलामा पानीको प्रवाह तीब्र हुनुपर्ने भए पनि काठमाडौँको नदी खोलाको पानी प्रवाह त्यस अनुसारको नभएको उहाँले बताउनुभयो ।
बाग्मतीको ठोस फोहोरलाई सहज रूपमा सङ्कलन तथा व्यवस्थापन गर्नका लागि यसअघि तिलगङ्गामा तारजाली जडान गरिए पनि यो अभियान सफल हुन नसकेको उहाँको अनुभव छ ।